आकर्षक मूल्यमा आयो नेभो क्यू ०६, रेन्ज ७०० किमीसम्म

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम ब्राण्ड नेभोले नयाँ क्रसओभर क्यू ०६ बिक्री सुरू गरेको छ ।

कम्पनीले ग्लोबल मोडलका रुपमा ल्याएको नयाँक्रसओभर क्यू ०६ चीनमा बिक्री सुरू गरेको हो । कम्पनीले नेभो क्यू ०६ को सुरूआती मूल्य २० हजार ८८० अमेरिकी डलर तोकेको छ । यो मूल्यलाई चिनियाँ बजारमा निकै आकर्षक मानिएको छ । यसले चिनियाँ बजारमा बीवाइडी सङ अल्ट्रासँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीले नेभो क्यू ०६ प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर (ईआरईभी) दुवै पावरट्रेनमा ल्याएको छ । यसको डिजाइन फक्सवागनका पूर्व डिजाइनर तथा चांगान अटोमोबाइलका उपाध्यक्ष रहेका क्लाउस जयसियोराले तयार पारेका हुन् ।

नेभो क्यू ०६ को डिजाइन निकै आकर्षक छ । यसमा आकर्षक फेन्डरहरू, भित्री भागतिर ढल्किएको बोनेट लाइन, स्प्लिट हेडलाइट्स, एउटै टेललाइट युनिट र सेमी हिडन डोर ह्याण्डलहरू रहेका छन्।

क्यू ०६ को लम्बाइ ४८३७ एमएम, चौडाइ १९७० एमएम र उचाइ १६७० एमएम छ । यसमा २,९४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा २० इन्चको ह्वील रहेका छन् । यस क्रसओभरको ड्रयाग कोएफिसिएन्ट ०.२७ सीडी रहेको छ।

नेभो क्यू ०६ को क्याबिन मिनिमलिस्टिक शैलीमा आधारित छ। यसको ड्यासबोर्डमा १५.६ इन्चको टचस्क्रीनका साथै केही फिजिकल बटनहरू राखिएका छन् । डी आकारको स्टेयरिङ ह्वीलको पछाडि एउटा सानो एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ । साथै यसमा हेडअप डिस्प्ले, भित्री भागमै रहेको वायरलेस फोन चार्जर र स्टेयरिङ कलममा जडान गरिएको गियर सिफ्टर समावेश छन्।

चांगानका अधिकारीहरूका अनुसार क्याबिनको ९०.६ प्रतिशत भाग नरम सामाग्रीले ढाकिएको छ। गाडीभित्रको एम्बियन्ट लाइटिङ ४,४५० एमएमसम्म फैलिएको छ। यसमा ९.५ लिटटरको इन बिल्ट फ्रिज छ ।

नेभो क्यू ०६ ले ९१.७ प्रतिशतको स्पेस उपयोगिता दर प्रदान गर्दछ। यसको दोस्रो पङ्क्तिका सीटहरूमा १४५ (डिग्री पावर रिक्लाइन र २८ पोइन्ट मसाज सुविधा रहेको छ। अगाडिका सीटहरूमा जेरो ग्रयाभिटी मोड दिइएको छ। छतमा फोल्ड गरेर राख्न सकिने स्क्रीन रहेको छ।

यसमा ७८२ लिटरको स्टोरेज क्षमता छ । पछाडिका सीटहरू पट्याउँदा यसलाई २,२०० लिटरसम्म बढाउन सकिन्छ । यसको बीईभी भर्सनमा अगाडि बोनेटमुनि १९६ लिटरको थप फ्रंक कम्पार्टमेन्ट पनि छ।

यसमा सुरक्षाका लागि छतमै जडान गरिएको २५६ लाइन लाइडार सेन्सर, ११ वटा क्यामेरा र ३ वटा एमएम वेभ राडारहरू रहेका छन्। तिनले ५६० टप्सको पिक कम्प्युटिङ क्षमता भएको प्रोसेसरमा जानकारी पठाउँछन् । यसले गाडीलाई १३५ किमीरघण्टाको गतिमा कुद्दा पनि स्वतः रोक्न सक्षम बनाउँछ। यसमा अर्को विशेषताको रुपमा अटोमेटिक इमर्जेन्सी स्टेयरिङ प्रणाली रहेको छ । जसले ६०–१२० किमीरघण्टाको गतिभित्र काम गर्दछ ।

नेभो क्यू ०६ को प्योर ईभी ३ मोटर अप्सनमा उपलब्ध छ । यसको बेस भेरियन्टमा २२५ किलोवाट मोटर र ६६ किलोवाट आवर ब्याट्री छ । जसले ६०२ किमी (सीएलटीसी) रेन्ज दिन्छ।

त्यस्तै, मिड भेरियन्टमा २४५ किलोवाटको मोटर र ८० किलोवाट आवर एलएफपी ब्याट्री छ । जसले ७०० किमी रेन्ज दिन्छ। नेभो क्यू ०६ को ड्युअल मोटर रियर ह्वील ड्राइभ भेरियन्टमा ३३० किलोवाटको मेटर र ८० किलोवाट आवरको ब्याट्री छ । जसको रेन्ज ६७० किमी छ । यसले ० देखि १०० किमी प्रतिघण्टाको गति केवल ४.८ सेकेण्डमै भेटाउँछ ।

नभो क्यू ०६ को ईआरईभी भर्सनमा जेनेरेटरका रूपमा १.५ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र २७० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रीक मोटर राखिएका छन्। यसमा २८.३९ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ । जसले २०० किमी प्योर इलेक्ट्रीक रेन्ज दिन्छ ।

हाल नेपालमा नेभोको क्यू ०५ एसयूभी बिक्री भइरहेको छ । प्रिमियम क्रसओभर खोज्नेलाई नयाँ विकल्पको रुपमा क्यू ०६ पनि आउन सक्छ ।


Back_to_top