काठमाडौं । नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो कारको रुपमा परिचित मारुती सुजुकी अल्टो ८०० र डाट्सन रेडी गो धेरैले इन्ट्री लेवल कारको रुपमा किन्ने गरेका मोडल हुन् ।
यही सेग्मेटमा हुन्डाईले इयोनलाई बजारमा ल्याएको भएपनि यसलाई कम्पनीले २०१९ बाट बन्द गरेको छ । यस्तोमा सबैभन्दा कम मूल्यमा बिक्री भइरहेका अल्टो ८०० र रेडी गोमा कति फरक छ भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।
नेपालमा बिगत ३० वर्षदेखि बिक्री हुँदै आएको मारुती सुजुकीका गाडी सिजी मोटो कर्पले बिक्री गर्दै आएको छ भने डाट्सन ब्राण्ड नेपाल आएको धेरै वर्ष भएको छैन । यसलाई नेपालमा पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ ।
यी दुबै कार नेपालको सडकमा बाक्लै गुडेको देख्न सकिन्छ । अल्टोको सर्वाधिक बिक्री ट्याक्सीको रुपमा हुने गरेको छ भने रेडी गो पूर्णत निजी कारको रुपमा बिक्री हुँदै आएको छ ।

इन्जिन
मारुती सुजुकीले अल्टो ८०० मा ७९६ सीसी क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ६००० आरपीएममा ४७.३ बीएच पावर प्रदान गर्छ । त्यस्तै डाट्सन रेडी गोमा ७९९ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ५३.६४ बीएच पावर प्रदान गर्नेछ ।
यी दुबै इन्जिनको माइलेज लगभग बराबर रहेको छ । एआरएआईले प्रमाणित गरे अनुसार रेडी गोले २२.७ किलोमिटर र अल्टोले २२.०५ किलोमिटर प्रतिलिट माइलेज प्रदान गर्नेछ ।
दुबै कार ५ सिट क्षमताका हुन् । अल्टोमा ३५ लिटरको फ्यूल ट्याङ्की दिइएको छ भने रेडी गोमा २८ लिटर क्षमताको रहेको छ ।
डाट्सनले रेडी गोलाई १.० लिटर इन्जिनमा पनि उपलब्ध गराएको छ । ९९९ सीसी क्षमता रहेको उक्त इन्जिनले ६७ बीएच पावर प्रदान गर्नेछ ।
सुरक्षा फिचर
मारुती सुजुकी अल्टो र रेडी गो दुबैमा समान किसिमको सुरक्षा फिचर रहेका छन् । दुबै कारमा एयरव्याग, एबीएस, इबीडी, चाइल्ड सेफ्टी लक, हेलोजिन हेडल्याम्प, सिट बेल्ट, सिट बेल्ट रिमाइन्डर, साइड इम्प्याक्ट बीम, फ्रन्ट इम्प्याक्ट बीम, एड्जस्टेवल सिट, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ जस्ता फिचर रहेका छन् ।
अल्टोमा यी फिचरका अलावा केही थप फिचर उपलब्ध रहेका छन् । स्पीड अर्लट, एन्टी थेप्ट डिभाइस, इन्जिन इमोविलाइजर, प्यासेन्जर एयरव्याग जस्ता फिचर रहेका छन् ।
साइज
रेडी गो र अल्टो दुबैको साइज लगभग समान रहेको छ । रेडी गोको लम्बाई ३४२९ एमएम, चौडाई १५६० एमएम र हाइट १५४१ एमएम रहेको छ । अल्टोको लम्बाई ३४४५ एमएम, चौडाई १४९० एमएम र उचाई १४७५ एमएम रहेको छ ।
ग्राउण्ड क्लियरेन्सको मामलामा रेडी गो निकै उत्कृष्ट रहेको छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स रेडी गोमा छ भने अल्टोमा १६५ एमएम रहेको छ । अल्टो ८०० को ह्वीलवेस २३६० एमएम रहेको छ भने रेडी गोमा २३४८ एमएम रहेको छ ।
मूल्य
अल्टो ८०० किन्न चाहने ग्राहकले तीन भेरियन्टमा छनोट गर्न सक्ने छन् । अल्टो स्टायडर्ड भेरियन्टको मूल्य १८ लाख ९९ हजार, अल्टो ८०० एलएक्सआई २० लाख ९९ हजार र अल्टो ८०० भीएक्सआई २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि रेडी गो किन्न चाहने ग्राहकले ७९९ सीसी क्षमताको लागि १९ लाख ९९ हजार र ९९९ सीसीको लागि २१ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


