आयो क्यूक्यू थ्री इलेक्ट्रीक ह्याचब्याक, कम मूल्यसँगै धेरै रेन्ज पाइने

काठमाडौं । चिनियाँ कार ब्राण्ड चेरीले क्यूक्यू ब्राण्डमा इलेक्ट्रीक ह्याचव्याक कार ल्याएको छ । कम्पनीले चलिरहेको छेन्दु अटो शोमा क्यूक्यू सिरिजमा पहिलो ह्याचव्याक कार ल्याएको हो ।

क्यूक्यू चेरीले सन् २००५ देखि उत्पादन थालेको ह्याचव्याक मोडल हो । सन् २००८ ताका नै क्यूक्यू नेपालमा बिक्री भएको थियो । आफ्नो १० लाख युनिटभन्दा बढी उत्पादन भएको ह्याचव्याक मोडल पछि कम्पनीले सन् २०१४ बाट बन्द गरेको थियो ।

अब त्यही उत्पादन बन्द भएको मोडलकै नामबाट इलेक्ट्रीक कार ल्याएको हो । ‘अल न्यू चेरी क्यूक्यू-थ्री’ नाम रहने कारमा ओभल डिजाइनको हेडलाइट प्रयोग भएको छ । दुई होरिजेन्टल डे टाइम रनिङ लाइट प्रयोग भएको कारको पछाडि पनि ओभल डिजाइनकै टेल लाइट पाउन सकिन्छ ।

क्यूक्यू-थ्री इलेक्ट्रीक मोडलको लम्बाइ ४२०० एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । गाडीको सिपिलरमा प्रयोग भएको क्यूक्यूको लोगो निकै चाखलाग्दो छ ।

कम्पनीले यसको ब्याट्री साइजको विषयमा कुनै जानकारी उपलब्ध गराएको छैन । तर, यसमा ९० किलोवाट पीकपावर भएको रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ ।

प्रिमियम ह्याचव्याक कारको क्याविन पनि फिचर लोडेड छ । यसमा १५.६ इन्चको २.५ के फ्लोटिङ स्कृन, ओभल डिजाइनमै तयार भएको एसी भेन्ट, एआईमा आधारित भोइस कमाण्ड, क्वालकमको ८१५५ स्न्यापड्रायन चीप प्रयोग भएको छ ।

कम्पनीका अनुसार यसमा ५० वाटको वायरलेस चार्जर, मोवाइल कनेक्टीभीट, फाल्कनको ५०० एड्भान्स ड्राइभिङ एसिस्ट (एडास) दिइएको छ । २५६ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट उपलब्ध कारमा कनेक्ट फिचर पाउन सकिन्छ ।

निकै प्रतिस्पर्धी मूल्यमा आउने बताइएको क्यूक्यू-थ्रीको रेन्ज पनि ४०० किलोमिटर हाराहारी रहने चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

चेरीको न्यू इनर्जी भेहिकलहरु नेपालमा एसपीजी अटोमोबाइलले बिक्री वितरण गर्दै आएको छ । त्यसैले सानो र बजेट कारको रुपमा आउने क्यूक्यू-थ्री नेपाल पनि आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top