काठमाडौं । सडक विभागले अब आफ्नो कार्याक्षेत्र प्रस्ट्याउन ललितपुर र भक्तपुरका सडकमा पनि सडक विभाग (स.वि.) लेख्ने भएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीको उपस्थितिमा शुक्रबार बसेकारे सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका सुपरिन्टेन्डेन्ट इन्जिनियरको अध्यक्षतामा बसेको विभिन्न पक्ष सम्मिलित समन्वय समितिको बैठकमले यस्तो निर्णय गरेको हो ।
यससँगै अब सडक डिभिजन भक्तपुर र ललितपुरले एक महिनाभित्र आफ्नो क्षेत्रका सडकको पोलमा स.वि. लेख्ने भएका हुन् । यसअघि विभागले काठमाडौंका सडकको पोलपोलमा स.वि. लेखेको थियो ।
अहिले सडक संक, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र पर्छ । संघले गरेका कामको जस स्थानीय तहले लिने गरेको भन्दै विभागले आफ्नो क्षेत्रधिकारको सडक भनेर चिनाउन स.वि. लेखेको थियो ।
विभागले पोलमा स.वि. लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यङ्ग्यात्मक रूपमा स्टाटस समेत लेखेका थिए । ‘डियर स.वि. जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ताभित्तामा तिम्रो नाम होस्,’ मेयर शाहले लेखेका थिए ।
त्यस्तै, बैठकले काठमाडौं उपत्यकाभित्रका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने, फुटपाथमा पैदल यात्रुका अवरोध हटाउने लगायतबारे निर्णय भएको विभागले जनाएको छ ।

