काठमाडौं । चीनमा ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी)को बिक्री घटेको छ । सन् २०२४ को जुनको तुलनामा जुलाइमा बीईभीको बिक्री १० प्रतिशतले घटेको हो ।
चाइना एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चर्स (सीएएएम)का अनुसार जुलाइमा बीईभीको होलसेल बिक्री ५ लाख ५१ हजार युनिटमा सीमित भएको छ । जुनमा ६ लाख १२ हजार ३०० युनिट बिक्री भएको थियो ।
जुलाइमा बीईभीको बिक्री घटे पनि प्लगइन हाइब्रिड (पीएचईभी) र हाइड्रोजन फ्युलसेल ईभी भने ग्राहकको रोजाइमा परेका छन् । जुलाइमा पीएचईभी ४ लाख ३८ हजार युनिट बिक्री भएको छ । यो गत वर्षको जुलाइको तुलनामा ८०.७ प्रतिशतले बढी हो भने यस वर्षको जुनको तुलनामा ०.४६ प्रतिशत धेरै हो ।
त्यस्तै, जुलाइमा हाइड्रोजन फ्युलसेल भेहिकलको बिक्री गत वर्षको भन्दा १८१.२ प्रतिशतले बढेर १ हजार युनिट पुगेको छ ।
चीनले जुलाइमा विश्व बजारमा १ लाख ३ हजार युनिट एनईभी निर्यात समेत गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले बढेको हो ।

चीनले निर्यात गरेको एनईभीमा ब्याट्री इलेक्ट्रीक भेहिकल ७७ हजार युनिट रहेको छ । यो संख्या गत वर्षको जुनकोभन्दा १६.७ प्रतिशतले घटेको हो । त्यस्तै प्लगइन हाइब्रिडको भने गत वर्षको जुलाइभन्दा १९० प्रतिशतले बिक्री बढेको छ । चीनले विश्व बजारमा २७ हजार युनिट जुलाइमा प्लगइन हाइब्रिड निर्यात गरेको देखिन्छ ।
यो बिक्रीको तथ्यांक हेर्दा विश्व बजारमा प्योर ब्याट्री इलेक्ट्रीक भेहिकलभन्दा हाइब्रिड तथा फ्युलसेल भेहिलक बढी रुचाएको देखिन्छ । न्यू इनर्जी भेहिकलमा ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड तथा फ्युलसेल भेहिकल पर्दछन् ।

समग्रमा भने चीनमा न्यू इनर्जी भेहिकल (एनईभी)को बिक्रीमा गिरावट आएको छ । सन् २०२४ को अप्रिलदेखि बढेको एनईभीको बिक्री जुलाइमा घटेको हो । जुनको तुलनामा जुलाइमा एनईभीको बिक्री ५.५३ प्रतिशतले घटेको हो ।
यद्यपि, सन् २०२३ को जुलाइको तुलनमा भने एनईभीको बिक्री २७ प्रतिशतले बढेको छ । गत वर्षको तुलनमा जुलाइमा ९ लाख ९१ हजार युनिट एनईभी बिक्री बढेको हो ।


