काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले जनवरीमा हुने अटो एक्स्पो २०२३ सकिने वित्तिकै सिट्रोन सीथ्री सार्वजनिक गर्ने भएको छ । कम्पनीले १० देखि १२ लाख भारतीय रुपैयाँ मूल्य तोकेर नयाँ मोडल बजारमा ल्याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अहिले भारतमा विक्री हुँदै आएको सफल इलेक्ट्रीक एसयूभी टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्न आउने सीथ्री मूल्यका हिसावले नेक्सनभन्दा सस्तो हुनेछ । अहिले नेक्सन ईभीको मूल्य १४ लाखदेखि १९ लाख भारतीय रुपैयाँसम्म रहेको छ । नेपालमा पनि नेक्सन ३९ लाखदेखि ४४ लाखसम्म मूल्य तोकेर विक्री हुँदै आएको छ ।
सिट्रोनले भारतमा सीथ्री कम्बस्चन इन्जिन भएको मोडल अहिले विक्री गर्दै आएको छ । नेपालमा पनि साँग्रिला मोटर्सले सीथ्री ल्याउने तयारी थालेको भएपनि आयात प्रतिबन्ध लाग्दा अहिलेसम्म आउन सकेको छैन ।
कम्पनीले सीथ्रीमा ४० किलोवाट आवरको ब्याट्री दिन लागेको अनुमान गरिएको छ । जुन टाटा नेक्सन म्याक्स मोडल बराबरको हो । तर, मोटरपावर १०० किलोवाट माथि भएको कारण नेक्सन म्याक्स नेपाल आएको छैन ।
सिट्रोन सीथ्रीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने अनुमान गरिएको छ । सिंगल चार्जमा ३०० किलोमिटर माथि रेन्ज दिनेगरी सीथ्री आउने अपेक्षा गरिएको छ । आधुनिक सुरक्षा फिचरको साथ आउने नयाँ ईभी साइजमा पनि नेक्सन ईभी बराबरकै हुनेछ ।