काठमाडौं । साँग्रिला मोटर्सले बिक्री गर्दै आएको सिट्रोन इसीथ्री साइन भेरियन्टको काठमाडौंदेखि रसुवागढीसम्मको टेष्ट ड्राइभ हामीले गरेका थियौं । हाम्रो छनोटमा काठमाडौं–नुवाकोट हुँदै रसुवागढी नाकासम्म पर्नुको मुख्य कारण इसीथ्रीको खराव बाटामा कस्तो प्रदर्शन हुन्छ भन्ने थियो ।
काठमाडौंदेखि १४६ किलोमिटरको दुरीमा रहेको रसुवागढी नाका पुग्न उकालो, ओरालो र कच्ची बाटोको यात्रा गर्नुपर्छ । फ्रान्सेली ब्राण्ड सिट्रोनले भारतमा उत्पादन गरेको इसीथ्रीमा केही फिचर अपग्रेड भएर आएको कारण हामीले टेष्ट ड्राइभ गरेका थियौं ।
सब फोर मिटर एसयूभी बराबरकै साइजमा उपलब्ध इसीथ्री साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ । पहिलेभन्दा मूल्यमा एक लाख रुपैयाँ बढ्दा ६ फिचर थप भएर आएको इसीथ्री १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएकै कारण सहजै रसुवागढी पुग्न सफल भएका थियौं ।
सस्पेन्सको लागि चर्चामा रहेको सिट्रोन इसीथ्री चलाउँदा कुनै किसिमको थकान महसुस भएन । खाल्डाखुल्डीमा पर्दा पनि निकै आरामदायी यात्रा अनुभूती गराउन सक्नु यसको सबैभन्दा बलियो पक्ष हामीले पायौं । इसीथ्रीको अगाडि म्याकफर्सनको स्ट्रट सस्पेन्सन र पछाडि क्वाल स्प्रीङसहितको ट्वीस्ट बीम सस्पेन्स प्रयोग भएको छ ।
यसअघिको स्टील ह्वीलको सट्टामा नयाँ साइन भेरियन्टमा प्रयोग भएको १५ इन्चको अलोय ह्वीलले यसको रोड प्रेजेन्समा नै फरकपन ल्याएको छ ।

उच्च गतिमा पनि निकै स्टेवल इसीथ्री १०५ किलोमिटरको स्पीडमा चलाउँदा पनि कुनै समस्या भएन । घुम्ती बाटाहरुमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।
स्टेरिङ केही कडा लाग्ने खालको भएपनि निकै युजर फ्रेन्डली छ । चार्जिङमा ८० प्रतिशतसम्म ३५ किलोवाटसम्मको चार्जर सहजै सपोर्ट गर्छ । कम्पनीका अनुसार यसले ६० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । ८० प्रतिशत माथि भने १०/११ र ९० प्रतिशत माथि ७ किलोवाटभन्दा कमले चार्ज भएको हामीले पायौं ।
हामीले यसलाई रसुवागढीमा रहेको होटल रिभर भ्यूमा आफ्नै ३ किलोवाटको चार्जर प्रयोग गरेर चार्ज गरेका थियौं । राती ४३ प्रतिशत चार्ज बाँकि रहेकाेमा विहान १०० प्रतिशत चार्ज भएको थियो ।

रसुवागढीबाट काठमाडौंसम्म ६० प्रतिशत चार्ज खर्च गरेर हामी आएका थियौं । आउँदा रसुवाको स्याउबारीदेखि बेत्रावतीसम्मको ओरालोमा झण्डै २१ प्रतिशत रिचार्ज भएको थियो । यसको रिजेन पनि उत्कृष्ट छ ।
के छ नयाँ साइन भेरियन्टमा ?

कम्पनीले नयाँ भेरियन्टमा अलोय ह्वील, अगाडि र पछाडि दुबै स्थानमा स्किड प्लेट, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेरिङ ह्वील र इलेक्ट्रीकल एड्जस्टेवल ओआरभीएम थपेर ल्याएको हो ।
इसीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्रीप्याक र ४२ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । जुन यसअघि पनि उपलब्ध थियो ।

