काठमाडौं । भारतमा उत्पादन भएका तीन विद्युतीय एसयूभी नेपालमा बिक्री सुरू हुने भएका छन् । भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्रा र टाटाले उत्पादन गरेका इलेक्ट्रीक एसयूभी बिक्री सुरू हुने भएका हुन् ।
यी दुई मध्ये महिन्द्राको २ इलेक्ट्रीक एसयूभी मोडल नेपाल आइसकेको छ । अहिले परीक्षणको क्रममा रहेको महिन्द्रा बीई-सिक्स र एक्सईभी-नाइन ई छिट्टै बिक्री सुरू हुने भएको हो ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले आगामी साउन २१ गतेबाट हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट दुवै एसयूभी बिक्री सुरू गर्ने अनुमान गर्न सकिन्छ । कम्पनीले दुवै एसयूभी अहिले नेपालको विभिन्न भू-भागमा परीक्षण गरिरहेको जनाएको छ ।
टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो पहिलो फोर ह्वील ड्राइभ मोडल नेपाल ल्याउने भएको छ । केही दिनअघि भारतमा लन्चिङ भएको ह्यारीयर ईभी आगामी नाडा अटो शोमा प्रदर्शनी हुने अनुमान गर्न सकिन्छ ।

सिप्रदी ट्रेडिङ कम्पनी स्रोतका अनुसार अहिले नाडा अटो शोमा ल्याउन प्रयास भइरहेको छ । विगतमा पनि सिप्रदीले भारतमा बिक्री सुरू भएको प्रोडक्ट ल्याएर बिक्री थाल्ने गरेको थियो । त्यसलाई आधार मान्दा नाडा अटो शोबाट ह्यारीयर ईभीको बिक्री सुरू हुनेछ ।
तीनवटै ठूला एसयूभी
महिन्द्रा र टाटाले नेपाल ल्याउने तीनवटै ठूला एसयूभी हुन् । भारतमा मूल्यको हिसाबले २० लाख भारतीय रुपैयाँदेखि टप भेरियन्टमा यी एसयूभीको ३० लाख रुपैयाँसम्म पर्छ । त्यस हिसाबले नेपालमा ६५ लाखदेखि १ करोड रुपैयाँ हाराहारीसम्म मूल्य पर्ने अनुमान गर्न सकिन्छ ।
साइजमा कुरा गर्दा आउँदै गरेका तीन भारतीय उत्पादनमा सबैभन्दा सानो बीई-सिक्स छ । यसको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस र २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

टाटा ह्यारीयर ईभीको लम्बाइ ४६०७ एमएम, चौडाइ १९२२ एमएम र उचाइ १७४० एमएम छ । यसमा २७४१ एमएम लामो ह्वीलबेस र २०५ एमएम ग्राउण्ड क्लियरेन्स दिइएको छ ।
आउँदै गरेका तीन इलेक्ट्रीक एसयूभीमा सबैभन्दा ठूलो साइजको महिन्द्रा एक्सईभी-नाइन ई छ । यसको लम्बाइ ४७८९ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६९४ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ग्राउण्ड क्लियरेन्स भने बीई-सिक्सकै जस्तो २०७ एमएम छ ।
यी तीनवटै एसयूभीमा लगभग समान ग्राउण्ड क्लियरेन्स छ । २०० एमएम भन्दा माथि ग्राउण्ड क्लियरेन्स भएको कारण हाम्रा खराब बाटाहरूमा पनि यी एसयूभी सहजै चलाउन सकिनेछ ।
ब्याट्री साइज
महिन्द्राले एक्सईभी-नाइन ई र बीई-सिक्स दुवैमा ५९ र ७९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यी दुवै गाडीले ४०० किलोमिटरदेखि ५५० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी टेस्टमा देखिएको छ ।

टाटाले पनि ह्यारीयर ईभीलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । यसमा ६५ र ७५ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको रेन्ज पनि ४३० देखि ५२० किलोमिटरसम्म हुने अनुमान गर्न सकिन्छ । एआरएआईले भने ब्याट्री साइज अनुसार ५३८ र ६२७ किलोमिटर रेन्ज दिनेछ ।

