बीवाइडीको मूल्य नीति : चीनमा सस्तो, निर्यातमा दोब्बर धेरै

काठमाडौं । अमेरिकी र युरोपियन राजनीतिज्ञ तथा व्यवसायीको टाउको दुखाइ बन्दै आएको चिनियाँ कारको मूल्य अब दुई किसिमको हुने देखिएको छ । चीनकै सबैभन्दा ठूलो कार निर्माता बीवाइडीले आफ्ना कार निर्यातमा व्यापक मूल्य बढाउन थालेको हो ।

बीवाइडीले चीनको स्थानीय बजारको तुलनामा निर्यात गर्दा २/३ गुणासम्म मूल्य बढाउन थालेको हो । अहिले यो विषय अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आएको छ । कम्पनीले निर्यात गर्दा मूल्य बढाउनुको मुख्य कारण स्थानीय बजारमा बढ्दै गएको प्राइसवार र घट्दो नाफा रहेको अनुमान गरिएको छ ।

रोयटर्सका अनुसार कतिपय अन्तर्राष्ट्रिय शोरुमहरूमा बीवाइडीको गाडीको मूल्य स्थानीय बजारभन्दा दुई गुणादेखि तीन गुणासम्म बढी रहेको भेटिएको छ ।

बीवाइडीको कम्प्याक्ट एसयूभी एटो-थ्रीको टप भेरियन्टको चीनमा २० हजार अमेरिकी डलर हाराहारी छ । स्थानीय बजारमा २० हजार डलर हाराहारी मूल्य एटो-थ्रीको जर्मनीमा ४२ हजार डलरभन्दा बढी रहेको भेटिएको छ ।

गत मार्चमा लगानीकर्ताहरूसँगको भेटघाटमा बीवाइडीका अध्यक्ष वाङ चियानफुले स्थानीय बजारमा प्राइसवारका कारण प्रति कार नाफा कम भए पनि अन्तर्राष्ट्रिय बजारमा हुने निर्यातबाट मार्जिन बढाउन सकिने दाबी गरेका थिए ।

स्थानीय बजारभन्दा निर्यात बजारमा केही मूल्य बढाएर बेच्ने अटोमोवाइल कम्पनीहरूको चलिआएकै चलन हो । तर, बीवाइडीको जस्तो २/३ गुणा बढी मूल्यमा बेच्नु अनौठो भएको ‘अटो फोर कास्ट सलुसन’का भाइस प्रेसिडेन्ट स्याम फिओरानीले बताए ।

चिनियाँ ईभी उत्पादकहरुले कार उत्पादनका सबै पक्षहरू कच्चा पदार्थदेखि ब्याट्रीसम्म, जमिनदेखि ज्यालासम्मको लागत घटाउन सफल भएका छन् । साथै, चीनको केन्द्र सरकारले स्थानिय बजारमा ईभी बिक्री गर्ने घरेलु र अन्तर्राष्ट्रिय सबै बाण्डका ईभीलाई अनुदान दिँदै आएको छ । जसका कारण गत वर्ष चीनमा इलेक्ट्रीक र प्लगइन भेहिकलको बिक्री बढेको थियो ।

चिनियाँ कारहरूको उत्पादन लागत पश्चिमा कार उत्पादकहरूको टाउको दुखाइ बन्दै आएको छ । उनीहरूले चिनियाँ कारहरूमा अझै बढी कर लगाउनु पर्ने बताउँदै अएका छन् । बीवाइडी र अन्य ईभी उत्पादकहरू युरोपियन देशमा व्यापक बजार विस्तारमा लागेका छन् । तर, अमेरिकाले अझै प्रवेश दिएको छैन ।


Back_to_top