प्राधिकरण अगाडि गुड्दा गुड्दै सखाप भयो प्योर ईभीको स्कुटर

काठमाडौं । प्योर ईभीको ‘ई प्लुटो ७ जी’ विद्युतीय स्कुटरमा गुड्दा गुड्दै आगलागी भएको छ ।

बुधबार बिहान ९:४५ बजे काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि सडकमा गुड्दा गुड्दै आगलागी भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार बागमती प्रदेश ०२-०१९ प ६२४६ नम्बरको इलेक्ट्रीक स्कुटरमा आगलगी भएको हो ।

स्कुटरमा आगलागी भए पनि कुनै मानवीय क्षति नभएको उनले बताए । आगलागीबाट स्कुटर भने पूर्ण रुपमा क्षति भएको छ । आगलागीको कारण भने खुलेको छैन ।

स्कुटर सडकमै जल्न थालेपछि रत्नपार्क क्षेत्रमा केही बेर सवारी जाम समेत भएको थियो ।

नेपालमा प्योर ईभीको उत्पादन ई प्लुटो स्कुटर ह्वाइट लोटस प्रालिले बिक्री गर्दै आएको छ । सुरुआती वर्षमा नेपालमा राम्रै संख्यामा बिक्री भएको ई प्लुटो पछिल्ला वर्षहरूमा भने आयात हुन छाडेको देखिन्छ । कम्पनीले गत वर्ष १ युनिट मात्रै ल्याएको थियो भने चालु आवमा आयात भएको देखिँदैन ।

कम्पनीले उपभोक्तालाई स्कुटर बिक्री गरेपछि कुनै किसिमको सर्भिस नदिएको र आफैँले तोकेको वारेन्टी पनि नदिएको गुनासो समेत सुनिन्छ ।

भारतमा पनि प्लुटो ७ स्कुटकरमा धेरै टेक्निकल समस्या देखिएको थियो । भारतीय बजारमा यो स्कुटरमा आधादर्जन बढी आगलागीका घटना भइसकेका छन् ।


Back_to_top