काठमाडौं । सरकारले आजबिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा भएको बस दुर्घटनाको छानबिन गर्न समित गठन गर्ने भएको छ ।
सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले तथ्यगत अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउने, दोषीउपर कारबाही गर्न सुझाव सहित प्रतिवेदन पेश गर्नेछ । समितिमा को को सदस्य रहने भन्ने टुंगो लाग्न बाँकी छ ।
सोमबार बिहान सवा १ बजेतिर पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा हालसम्म एक विदेशी नागरिकसहित १९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको छ ।

