काठमाडौं । मोटरसाइकल/स्कुटर सामान्य आवतजावत गर्ने साधनमा मात्रै सीमित छैनन् । त्यसैले युवा पुस्ताले खरिद गर्ने मोटरसाइकल मल्टी पर्पस हुने गरेको हो ।
मोटरसाइकल र स्कुटर चलाएर देश घुम्ने टे«न्ड नै चलेको छ । चाहे त्यो मनाङको अफरोड होस् वा हाइवे राइड युवाहरू दुईपाँग्रेमै हुइकिन मनपराउँछन् । युवाहरूको बढ्दो राइडिङ चाहना पूरा गर्न बिक्रेताहरूले पनि नयाँ मार्केटिङ रणनीति बनाउन थालेका छन । त्यसको लागि एउटा उत्तम विकल्प भएको छ, ‘कम्युनिटी राइड’ ।
कम्युनिटी राइड निकै ट्रेन्डी शब्द बनेको छ । दुईपाँग्रे साधन किन्ने जो कोही, कुनै न कुनै राइडिङ कम्युनिटीसँग जोडिएका छन् । केही वर्ष अघिसम्म ‘राइडिङ क्बल’ भनेर चिनिने र क्लब मार्फत राइडहरू गर्ने गरिन्थ्यो । अहिले कम्पनीहरू नै यसमा अग्रसर छन् । सीमित ब्राण्डका साधन राख्नेको मात्रै आफ्नो क्लब छ ।
अहिले खासगरी मोटरसाइकल बिक्रेता कम्पनीहरूले आफ्नो साधन बिक्री गर्ने बित्तिकै आफ्नो ‘कम्युनिटी राइड’ क्लबमा जोडिदिन्छन् । पछिल्लो दिनमा इलेक्ट्रीक दुईपाँग्रे साधन बिक्री गर्ने एथर ब्राण्डले पनि ‘एथर कम्युनिटी’ नाम दिएर राइड गर्दै आएको छ ।

अहिले बजारमा रहेका रोयल इनफिल्ड, केटीएम, ट्रायम्फ, टीभीएस, बजाज, हिरो, यामाहा लगायतका ब्राण्डले कम्युनिटी राइड गराउँदै आएका छन् । यी ब्रान्डहरूले हरेक हप्ता वा महिना दिनमा राइड गर्दै आएका छन् । यस्ता राइडको लागि आवश्यक खर्च कम्पनी आफैँले व्यहोर्छ ।
कम्युनिटी राइडलाई निकै महत्व दिँदै आएका कम्पनीहरूले यसलाई ब्राण्ड परिचित बनाउने अस्त्रको रूपमा पनि प्रयोग गरेको बुझ्न सकिन्छ ।

‘कम्युनिटी राइडको कन्सेप्ट भनेकै ग्राहक र कम्पनी बीच सम्बन्ध बनाउने मात्र नभई भाइचारा विस्तार गर्ने अवधारणा पनि हो । यसले ब्राण्ड र राइडर दुवै पक्षलाई फाइदा पुग्छ,’ हंशराज हुलाश चन्द एण्ड कम्पनीका एसिस्टेन्स जनरल मेनेजर अमितराज चालिसेले भने ।
कम्युनिटी राइडको फाइदालाई चालिसे उत्पादनको विषयमा छलफल हुने स्थान मान्छन । उनी भन्छन्, ‘मोटरसाइकल चढ्ने धेरै मानिस एउटै राइडमा हुँदा मोटरसाइकलको एक्स्पेरियन्स समेत छलफल हुन्छ । त्यसले राइड गर्दा ब्राण्डको लागि मोटरसाइकलको पर्फमेन्स र क्षमता बुझ्न अवसर पनि हो ।’

कम्युनिटी राइडले ब्रान्ड चिनाउन र मोटरसाइकलको विविध पक्ष परीक्षण गर्ने मध्यमका रूपमा काम गरेको बताउँछन् ट्रायम्फ नेपालका प्रबन्ध निर्देशक सागर थापा । उनी भन्छन्, ‘हामीले विशुद्ध रामाइलो र मोटरसाइकलको पर्फमेन्स हेर्न राइड गर्छौ । कम्युनिटी राइड राम्रो बनाउन सक्दा ब्रान्डलाई फाइदा नै पुग्छ ।’
इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी वैद्य्ज इनर्जीले पनि एथर कम्युनिटी राइड गरिरहेको छ । कम्पनीले विभिन्न समयमा ग्राहकसँगको इनगेजमेन्ट बढाउन र स्कुटरको फिड ब्याक लिन राइड गरिरहेको कम्पनीका मार्केटिङ हेड सलमान खान बताउँछन् ।
‘हामी इलेक्ट्रीक साधन बेच्ने र भोलिदेखि ग्राहक नचिन्नेभन्दा एथर परिवारमा जोडिएपछि बलियो सम्बन्ध बनाउन चाहन्छौं । हाम्रो राइडमा सहभागितासँगै ब्राण्ड प्रतिको विश्वास र मनोरन्जन दुवै कुरा उपभोक्ताले पाउने भन्ने उद्देश्य हो,’ खानले भने ।

नयाँ ब्रान्ड र नयाँ डबल पर्पस मोटरसाइकल ल्याउनेहरूको सबैभन्दा बलियो मार्केटिङ टुल्सको रूपमा कम्युनिटी राइड बन्दै गएको छ ।


