कम्प्याक्ट एसयूभीमा कसकाे कति बजार हिस्सा, ब्रेजा पहिलो हुँदा भेन्यू र सोनेट कहाँ

काठमाडौं । सब फोर मिटर एसयूभी अहिले नेपालमा सबैभन्दा धेरै विक्री हुने मध्येको एउटा सेग्मेन्ट हो । यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन र किया सोनेट विक्री हुँदै आएका छन् ।

यहि सेग्मेन्टमा निसान म्याग्नाइट र रेनो काइगर बजारमा आउने क्रममा रहेका छन् । यस्तोमा कोभिड १९ ले समस्यामा पारेको वर्ष सन् २०२० मा यो सेग्मेन्टमा नेपाल आयात भएका सबै मोडलको संख्या हामीले यहाँ प्रस्तुत गरेका छौं ।

सन् २०२० मा सब फोर मिटर सेग्मेन्टमा सर्वाधिक आयात भएको मारुती सुजुकी भिटारा ब्रेजा हो । कम्पनीले यसअघि डिजेल इन्जिनमा मात्र उपलब्ध गराउँदै आएको ब्रेजाको फेसलिफ्ट मोडल पेट्रोल इन्जिनमा मात्रै ल्याएको छ । पेट्रोल इन्जिनमा आयत सुरु भएसँगै यसको आयात निकै राम्रो संख्यामा भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सन् २०२० को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ब्रेजा ८१७ यूनिट आयात भएको छ । ब्रेजालाई पक्षाइरहेको हुन्डाई भेन्यू दोस्रो स्थानमा रहेको छ । हुन्डाईको सफल सब फोर मिटर एसयूभी भेन्यूको आयत ५३२ यूनिट भएको छ ।

सन् २०१३ देखि नेपालमा विक्री हुँदै आएको फोर्डको इकोस्पोर्ट तेस्रो स्थानमा पर्न सफल भएको छ । कुनै समय एकछत्र बजार हिस्सा रहेको इकोस्पोर्ट सन् २०२० मा ३७२ यूनिट आयात भएको छ ।

नेपालमा टाटाको गेमचेन्जर प्रडक्टको नामले चिनिने नेक्सन एसयूभीको आयात सन् २०१९ को तुलनामा घटेको छ । कम्पनीले सन् २०२० मा २३२ यूनिट नेक्सन आयात गरेको देखिन्छ ।

कियाले सन् २०२० को अन्तिममा नेपाल ल्याएको आफ्नो पहिलो सब फोर मिटर एसयूभी सोनेट एक महिनामा नै १६९ यूनिट आयात गरेको देखिन्छ ।

भारतमा निकै राम्रो विक्री भइरहेको भएपनि महिन्द्रा एक्सयूभी ३०० को आयात निकै निरासजनक रहेको छ । कम्पनीले सन् २०२० मा केवल २० यूनिट एक्सयूभी ३०० नेपाल ल्याएको देखिन्छ ।


Back_to_top