काठमाडौं । बढ्दो एड्भेन्चर मोटरसाइकलको बजारमा २५० सीसी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी थपिने भएको छ । नाडा अटो शो २०२२ बाट जापानी अटो निर्माता कम्पनी सुजुकीले भारतमा उत्पादन गरेको ‘भि स्ट्रोम २५०’ नेपाल आउने भएको हो ।
नेपालको लागि सुजुकी मोटरसाइकलको आधिकारीक वितरक भिजी सुजुकीले भदौ ७ गतेदेखि आयोजना हुने नाडा अटो शोमा यसलाई विक्री सुरु गर्दा यसको मुख्य प्रतिस्पर्धी केटीएम २५० एड्भेन्चर मोडल हुनेछ ।
केटीएम २५० पनि अहिले नेपालमा सोल्ड आउट रहेको कारण भदौमा दुबै ब्राण्डका एड्भेन्चर मोटरसाइकल नेपाल आउने छन् भने यी दुईको विक्रीमा पनि गज्जबकै प्रतिस्पर्धा देख्न पाइनेछ । त्यसैले यी दुई मोटरसाइकलमा रहेका भिन्नता यहाँ चर्चा गर्न उपयुक्त हुन्छ ।
डिजाइन
एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएका दुबै मोटरसाइकल झट्ट हेर्दा निकै लोभलाग्दा छन् । सहरी बाटो होस् वा अफरोड दुबै ठाँउमा यात्रा गर्न उपयुक्त यी मोटरसाइकल लामो यात्रा गर्नेका लागिसमेत राम्रो मानिन्छ ।

एड्भेन्चर टुरर डिजाइनमा भएका कारण यी दुबै मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स उच्च छ । यसले गर्दा अफरोडमा चलाउँदा कुनै समस्या हुँदैन । साथै, दुबैको ह्यान्डल पनि अपराइट पोजिशनमा छ, जसले गर्दा उठेर मोटरसाइकल (स्याडलिङ) चलाउन सहज हुन्छ ।
इन्जिन
केटीएम २५० एड्भेन्चर २४८ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ बीएच पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
सुजुकी भि-स्ट्रोम २५० मा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
इन्धन क्षमता र माइलेज
एड्भेन्चर टुरर मोटरसाइकलमा इन्धन क्षमता कति छ भन्ने विषय निकै महत्वपुर्ण हुन्छ । लामो यात्रा गर्न र अफरोड ट्रेलहरुमा चलाउन धेरै प्रयोग हुने भएको कारण यसमा धेरै इन्धन बोक्ने क्षमता दिइएको हुन्छ । केटीएमले यही कुरालाई मध्यनजर गर्दै १४.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ ।
त्यस्तै, सुजुकीले १२ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ । केटीएमले प्रति लिटर ३५ किलोमिटर माइलेज दावी गरेको छ भने, सुजुकीले ३८ किलोमिटर दावी गरेको छ ।
डाइमेन्सन
केटीएम २५० एड्भेन्चर मोटरसाइकलको कुल तौल १७७ केजी रहेको छ । यसको लम्वाई २१५४ एमएम, चौडाई ९०० एमएम, उचाई १२६३ एमएम रहेको छ । यो मोटरसाइकलको ह्वील वेस १४३० एमएम, ग्राउन्ड क्लियरेन्स २०० एमएम र सिट हाइट ८५५ एमएम रहेको छ ।

त्यस्तै सुजुकी भि-स्ट्रोम २५० को कुल तौल १६७ केजी रहेको छ । यसको लम्वाई २१८० एमएम, चौडाई ८८० एमएम, उचाई १३५५ एमएम रहेको छ । यसमा ह्वील वेस १४४० एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम तथा सिट हाइट ८३५ एमएम छ ।
ह्वील/सस्पेन्सन/ब्रेक
यी दुबै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील र दुबै चक्कामा डिस्क ब्रेक रहेको छ ।
केटीएम २५० एड्भेन्चरको अगाडि डब्ल्युपी एपेक्स ४३ एमएम ट्राभल यूएसडी फर्क र रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिइएको छ । त्यस्तै भि-स्ट्रोम २५०को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ ।
अन्य फिचर
यी दुबै मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलइडी रहेका छन् । त्यस्तै यसमा पुर्णत डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।

मूल्य
केटीएम २५० एड्भेन्चरको मूल्य २ लाख ३५ हजार (एक्स सोरुम) भारतीय रुपैयाँ रहेको छ । त्यस्तै सुजुकी भि-स्ट्रोम २५० को मूल्य २ लाख १२ हजार (एक्स शोरुम) भारतीय रुपैयाँ रहेको छ ।
केटीएम २५० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ । हंशराज हुलासचन्दले विक्री गर्ने केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार रुपैयाँ रहेको छ । अब आउँदा यो मोटरसाइलको मूल्य १ लाखसम्मले बढ्न सक्ने बताइएको छ ।
केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको सुजुकी भि–स्ट्रोम २५० नेपाल आउँदा यसको मूल्य ९ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर बढाएका कारण यी दुबै मोटरसाइकलको मूल्य बढिहुने भएको हो ।

