काठमाडौं । टोयोटाको बहुप्रतिक्षित मोडल ‘अर्वान क्रुजर हाइराइडर’ भारतमा सार्वजनिक भएको छ । टोयोटाले गाडी सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेसँगै यसमा रहेका फिचरको विषयमा चर्चा सुरु भएको छ ।
जापानी निर्माताले अर्वान क्रुजर हाइराइडरको डेलिभरी भने आगामी अगष्ट महिनाबाट मात्रै गर्ने जनाएको छ । विशेषत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको हाइडर सेग्मेन्टकै पहिलो अल ह्वील ड्राइभ सिस्टम भएको एसयूभी हो ।
टोयोटाले हाइराइडरलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा नियो ड्राइभ भर्सनमा १४६२ सीसी क्षमताको इन्जिन दिएको छ । जुन मारुती सुजुकी ब्रेजाबाट लिइएको हो । यसले अधिकतम ६००० आरपीएममा १०२ पीएस पावर र ४४०० आरपीएममा १३५ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

हाइराइडरमा अर्को इन्जिन हाइब्रिड रहेको छ । १४९० सीसी क्षमताको नयाँ पेट्रोल इन्जिनले अधिकतम ५५०० आरपीएममा ९२.४ पीएस पावर र ३८०० आरपीएममा १२२ एनएम टर्क प्रदान गर्छ । तर, यसमा १७७.६ भोल्टको लिथियम आयोन ब्याट्री र एसी सिन्क्रोनास मोटरसहितको हाइब्रिड टेक्नोलोजी प्रयोग भएको कारण यसको संयुक्त पावर भने ११५ पीएस रहेको छ । जुन यो सेग्मेन्टमा रहेका क्रेटा, सेल्टोस, टाइगुन र कुशक बराबर हो । यसको म्यानुयल भेरियन्टमा अल ह्वील ड्राइभ सिस्टम रहेको छ, जुन सेग्मेन्टमा अन्य कुनै ब्राण्डसँग छैन ।
साइज
अर्वान क्रुजर हाइराइडरको लम्वाई ४३६५ एमएम, चौडाई १७९५ एमएम, उचाई १६३५ एमएम र ह्वीलवेस २६०० एमएम रहेको छ । पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने यो एसयूभीमा ४५ लिटरको इन्धन ट्याङ्की र टर्निङ रेडियस ५.४ मिटर रहेको छ ।
ब्रेक र सस्पेन्सन
टोयोटाले हाइराइडरको सबै चक्कामा डिस्क ब्रेक दिएको छ । यसको अगाडिको दुई चक्कामा भ्यान्टिलेटेड डिस्क र पछाडि सोलिड डिस्क दिएको छ । १७ इन्चको स्टील र १७ इन्चकै अलोय ह्वीलको साथ आउने हाइडरमा अगाडि म्याक्फेर्सन स्टर्क र पछाडि टुर्सन बीम सस्पेन्स दिएको छ ।
भेरियन्ट
टोयोटाले इको ड्राइभ इन्जिनमा इ, एस, जी र भी गरी चार भेरियन्ट र हाइब्रिड इन्जिनमा एस, जी र भी भेरियन्टमा हाइराइडरलाई ल्याएको छ ।
फिचरको कुरागर्दा इको ड्राइभको दुई भेरियन्ट इ र एसमा हेलोजिन लाइट दिइएको छ । त्यस्तै जी र भीमा एलइडी लाइट प्रयोग गरिएको छ । त्यस्तै हाइब्रिड इन्जिनको एस भेरियन्टमा पनि हेलोजीन र अन्य दुई जी र एस भेरियन्टमा एलइडी लाइट पाउन सकिन्छ ।

सुरक्षा फिचर
अर्वान क्रुजर हाइराइडरको सबै भेरियन्टमा अगाडि दुई एयरब्याग र दुबै इन्जिनको माथिल्ला दुई भेरियन्टमा साइड र कर्टन एयरव्याग पाउन सकिन्छ ।
टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, सेन्सर सहितको पार्किङ क्यामेरा, यात्रुको आवश्यकता अनुसार मिलाउन मिल्ने सिट बेल्ट, एबीएस, इबीडी जस्ता फिचर यसमा उपलब्ध छन् ।
अन्य फिचर
टोयोटाले हाइराइडरमा प्रिमियम सिट, सनरुफ, आकर्षक ड्यासबोड, ९ इन्चको स्ट्यान्डीङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, भ्यान्टीलेटेड फ्रन्ट सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल, कनेक्ट कार टेक जस्ता फिचर दिएको छ ।

