काठमाडौं । नेपालको आफ्नै डिजाइन र कन्सेप्टमा मोटरसाइकल उत्पादन गर्ने विषय दन्त्यकथा जस्तो लाग्ने युगमै रहेका हामीलाई यात्री मोटरसाइकल निर्माणमा जुटेका युवाहरुले सकारात्मक सन्देश दिएका छन् ।
करिब ३ वर्षअघि युवा इन्जिनियर असिम पाण्डेले भनेका थिए, ‘नेपाली मौलिक डिजाइनमा मोटरसाइकल बनाउने योजना लगभग तयार भएको छ ।’ यसोभन्दै गर्दा उनि निकै आत्मविश्वासी देखिएका थिए । त्यसको तीन वर्षपछि उनै असिमको इन्जिनियरिङ नेतृत्वमा तयार भएको यात्री पी वान मोटरसाइकल सडकमा देख्दा गर्व लाग्छ ।
ठूला ठूला गफ दिन सबैले सक्छन् । नेपाल जस्तो देशमा बसेर ग्लोवल मार्केटमा प्रतिस्पर्धा गर्ने किसिमको साधन डिजाइन र उत्पादन गर्न सक्नु आफैँमा ठूलो उपलब्धी हो । यसमा दरिलो साथ यात्रीका सीइओ वत्सल पाण्डेले दिएका छन् । उनी कम्पनीका सीइओ मात्रै होइनन् लगानीकर्ता, बजारीकरण गर्ने जिम्मेवारी लिएका युवा उद्यमी हुन् ।
सन् २०२० मा पहिलो पटक यात्रीको ‘पी जिरो’ प्रोजेक्ट देखाउँदा जुन आत्मविश्वास असिम लगायतको टीम माथि लगानीकर्ता विक्रम पाण्डे र निकोलस पाण्डेले गरेका थिए । त्यो विश्वासलाई उत्पादनमा परिणत गर्न सकेकै कारण यात्री बजारमा देखिन थालेको हो । अहिले यात्रीको ‘पी वान’ मोडल सडकमा गुढिरहेको भेटिन्छ । झट्ट हेर्दा जो कोहीलाई आकर्षित गर्न सक्ने पी वान सफलताको बाटोमा लम्किएको छ ।

यात्री पी वान के छ खास ?
यात्री पी वान सहरी यात्राको लागि तयार भएको मोटरसाइकल हो । डबल स्पोर्ट डिजाइनमा निकै बोल्ड अवतारमा बनेको पी वानले २०० सीसी सेगमेन्टका मोटरसाइकल बराबरको पावर प्रदान गर्छ । यसले अधिकतम १९ हर्सपावर शक्ति प्रदान गर्छ ।
पी वानको सबैभन्दा बलियो पक्ष भनेको फास्ट चार्जिङ क्षमता हो । यसलाई सामान्य र्चाजरले २ घन्टा र फास्ट चार्जरको सहायताले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सिंगल चार्जमा ११० किलोमिटर रेन्ज दिने यो मोटरसाइकलको लागि आवश्यक फास्ट चार्जिङ नेटवर्क यात्रीले विस्तार गर्दैछ ।
यात्रीले यसमा प्रयोग भएको ब्याट्रीले १ लाख २० हजार किलोमिटरसम्म उत्कृष्ट पर्फमेन्स दिने जनाएको छ । कम्पनीका अनुसार वार्षिक १० हजार किलोमिटर चलाउने ग्राहकलाई औषतमा १२ वर्षसम्म कुनै समस्या हुँदैन । यसमा ३ किलोवाट आवरको लिथियम म्याग्नीस अक्साइड केमेस्ट्री ब्याट्री दिइएको छ ।

याे मोटरसाइकलको टप स्पीड क्षमता पनि १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ भने फोर जी नेटवर्क सपोर्ट गर्छ । एन्ड्रोइड र आईओएसमा मोवाइल एप मार्फत कनेक्ट गर्न सकिने मोटरसाइकलमा अन बोर्ड जिपीएस सहितको एन्टीथेप्ट, चार्जिङ स्टाटस, रोड साइड एसिस्टेन्स जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले पी वानको मूल्य ५ लाख ६५ हजारबाट सुरुगरी विक्री वितरण गर्दै आएको छ ।

