स्कुटरमा आकर्षित हुँदै उपभोक्ता, यस्तो छ ६ वर्षको ‘ट्रेन्ड’

काठमाडौं । नेपालमा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को प्रयोग बढ्दो क्रममा छ । सार्वजनिक यातायात सहज, छिटो र भरपर्दो नहुँदा आमसर्वसाधरण बाध्यात्मक रूपमा दुईपाँग्रे निजी सवारीतर्फ आकर्षित भइरहेका हुन् ।

साथै, पछिल्लो समय राइड सेयरिङ, फुड डेलिभरी, कुरियर लगायतका सेवामा रोजगारी बढेसँगै दुईपाँग्रे सवारीको प्रयोग बढ्न थालेको हो ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार देशभर (गत फागुनसम्म) कुल साढे ६२ लाख सवारी दर्ता भएका छन् । तीमध्ये करिब ८० प्रतिशत अर्थात् साढे ५० लाख दुईपाँग्रे रहेका छन् । पछिल्लो साढे ५ वर्षमा मात्रै झण्डै ११ लाख दुईपाँग्रे सवारी आयात भएको भन्सार तथ्यांक छ ।

दुईपाँग्रे सवारीमा मोटरसाइकल र स्कुटर विकल्प छ । जसमा उपभोक्ताहरू पछिल्लो समय मोटरसाइकलभन्दा स्कुटरतर्फ आकर्षित भइरहेको देखिन्छ । वर्षेनी कुल आयातमा स्कुटरको हिस्सा बढ्दो छ भने मोटरसाइकलको घट्दो छ । ६ वर्षअघि कुल आयातमा स्कुटरको हिस्सा एकतिहाई रहेकोमा हाल झण्डै आधा पुग्न लागेको छ ।

मोटरसाइकलको तुलनामा स्कुटर चलाउन निकै सजिलो र व्यवहारिक हुनु, सहरी क्षेत्रका लागि उपयोगी, धेरै सामान राख्ने सुविधा, मोटरसाइकल जस्तै शक्तिशाली र आधुनिक फिचर भएका स्कुटर आउनु, माइलेज बढी हुनु लगायत कारणले स्कुटरतर्फ आकर्षण बढेको हो ।

लामो यात्रा गर्ने, टुरिङ पारखी, युवा पुस्ता लगायतले मोटरसाइकल मन पराए पनि दैनिक कामकाजी, नयाँ चालक, महिला, विद्यार्थी, पाका उमेरका व्यक्तिहरूको रोजाइमा भने स्कुटर परेको देखिन्छ ।

हाल नेपाली बजारमा करिब ३ दर्जन (पेट्रोल र ईभी) बढी ब्राण्डका स्कुटर उपलब्ध छन् । यद्यपि, करिब १ दर्जन ब्राण्डै मात्रै स्थापित हुन सकेको देखिन्छ । बजारमा टीभीएस, यामाहा, हिरो, होण्डा, सुजुकी, एथर, टेलजी, चेतक, याडिया लगायत ब्राण्ड उपभोक्ताको नजरमा परेको देखिन्छ ।

झण्डै आधा पुग्न लाग्यो हिस्सा

उपभोक्ताको उच्च आकर्षणकै कारण नेपालमा दुईपाँग्रे सवारी स्कुटरको हिस्सा झण्डै आधा पुग्न लागेको छ । अर्थात् वर्षेनी स्कुटरको आयात र बिक्री दुवै बढ्दो क्रममा छ । कोभिडकालमा सुस्ताएको दुईपाँग्रे बजार पछिल्लो ३ वर्ष यता लयमा छ । जसमा वृद्धिदर मोटरसाइकलकोभन्दा स्कुटर (पेट्रोल र ईभी दुवै)को धेरै छ ।आयात भएका अधिकांश विद्युतीय सवारी स्कुटर नै रहेकाले यहाँ ती पनि स्कुटरमै जोडेर हिसाब गरिएको छ ।

आव २०२१/२२ मा कुल दुईपाँग्रे आयातमा मोटरसाइको हिस्सा ६५.२४ प्रतिशत र स्कुटरको ३४.७६ प्रतिशत थियो । सो आवमा कुल ३ लाख ३ हजार २३७ युनिट दुईपाँग्रे आयात हुँदा स्कुटर (पेट्रोल र ईभी दुवै) १ लाख ५ हजार ४०२ आयात भएको थियो ।

त्यस्तै, आव २०२२/२३ मा कुल १ लाख ३९ हजार २४० युनिट दुईपाँग्रे आयात हुँदा स्कुटर ६५ हजार ३९४ युनिट रहेका छन् । यो कुल आयातको ४६.९६ प्रतिशत हो ।

आव २०२३/२४ मा भने कुल आयातमा स्कुटरको हिस्सा आधा बढी रहेको छ । कोभिडका कारण बजार शिथिल भएकाले सो वर्ष कुल १ लाख १९ हजार ६५८ युनिट दुईपाँग्रे आयात भएको थियो । जसमा स्कुटर पेट्राल र ईभी दुवै गरी ६६ हजार २४३ युनिट रहेका थिए । जुन कुल आयातको ५५.३६ प्रतिशत हो ।

आव २०२४/२५ मा केही खुम्चिएको स्कुटरको हिस्सा त्यस यता भने लगातार बढ्दो क्रममा छ । सो आवमा कुल १ लाख ८७ हजार २०९ युनिट दुईपाँग्रे आयात हुँदा ८५ हजार ३२ युनिट स्कुटर थिए । जुन कुल आयातको ४५.४२ प्रतिशत हो ।

आव २०२५/२६ मा कुल २ लाख ५० हजार ६५७ युनिट दुईपाँग्रे आयात हुँदा स्कुटर १ लाख १९ हजार बढी रहेका छन् । यो वर्ष कुल आयातमा स्कुटरको हिस्सा ४७.५८ प्रतिशत रहेको थियो ।

चालु आव २०२६/२७ को साढे ४ महिना (अप्रिल १–अगष्ट १५)मा स्कुटरको हिस्सा झण्डै आधा रहेको छ । यस अवधिमा कुल ६९ हजार ३८५ युनिट दुईपााँग्रे आयात हुँदा ३४ हजार ९१ युनिट स्कुटर रहेका छन् । जुन कुल आयातको ४९.१३ प्रतिशत हो ।

ईभीको हिस्सा पनि वर्षेनी बढ्दै

प्यासेन्जर कार सेग्मेन्टमा विद्युतीय सवारीले डोमिनेट गर्दा दुईपाँग्रेमा भने अझै न्यून छ । हाल नयाँ बिक्री हुने कुल कारमध्ये ७० प्रतिशत बढी ईभी रहने गरेका छन् । तर, दुईपाँग्रेमा भने बल्ल १० प्रतिशतको नेटो काटेको छ ।

यद्यपि, दुईपाँग्रे सवारीमा ईभीको हिस्सा वर्षेनी बढ्दै गएको छ । आव २०२१/२२ मा कुल आयातमा विद्युतीयको हिस्सा १ प्रतिशतभन्दा कम अर्थात् ०.८० प्रतिशत थियो । सो आवमा कुल ३ लाख ३ हजार २३७ युनिट दुईपाँग्रे आयात हुँदा ईभी केबल २ हजार ४४१ युनिट मात्रै थियो ।

त्यस्तै, आव २०२२/२३ मा ईभीको हिस्सा दोब्बरभन्दा धेरैले बढेर ४ प्रतिशत पुगेको थियो । सो आवमा १ लाख ३९ हजार २४० दुईपाँग्रे आयात हुँदा ईभी ५ हजार ६१३ युनिट रहेको थियो । जुन कुल आयातमा ४.०३ प्रतिशत हो ।

आव २०२३/२४ मा ईभीको हिस्सामा झिनो सुधार देखिएको थियो । सो आवमा कुल १ लाख १९ हजार ६५८ युनिट दुईपाँग्रे आयात हुँदा ईभी ५ हजार १८७ युनिट अर्थात् ४.३३ प्रतिशत रहेको थियो ।

आव २०२४/२५ मा घटेको ईभीको हिस्सा पछिल्ला २ वर्षमा भने तीव्र रूपमा बढेको छ । आव २०२५/२६ मा २ लाख ५० हजार ६५७ युनिट दुईपाँग्रे आयात हुँदा ११ हजार ४९५ ईभी थिए । जुन कुल आयातको ४.५९ प्रतिशत हो ।

चालु आव २०२६/२७ मा भने ईभीको हिस्सा बढेर १३ प्रतिशत पुगेको छ । यो आवको साढे ४ महिना (अप्रिल १-अगष्ट १५सम्म) कुल ६९ हजार ३८५ युनिट दुईपाँग्रे आयात हुँदा ९ हजार ५०२ युनिट ईभी रहेका छन् ।

दुईपाँग्रे ईभीमा अधिकांश इलेक्ट्रीक स्कुटर रहेका छन् । मोटरसाइकलको हिस्सा अत्यन्त न्यून (नगन्य) रहेको छ ।


Back_to_top