मासिक १ रुपैयाँ किस्तामा सवारीसाधन दिन सकिन्छ किः सौरभ ज्याेति

काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि सवारीसाधन बिक्रेता कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न किसिमका अफर ल्याउने तयारी गरिरहेको युवा उद्यमी सौरभ ज्योतिले बताएका छन् । उनले हिजो केएफएले आयोजना गरेको ‘कोरोना संकटपछिको अटोमोवाइल सेक्टर’ नामक छलफल कार्यक्रममा भाग लिदै उक्त कुरा बताएका हुन् ।

ज्योति नेपालमा होन्डाका कार तथा मोटरसाइकल कम्पनीको आधिकारीक वितरक कम्पनी स्याकार ट्रेडिङका चेयरम्यान हुन् । उनले आफ्नो कम्पनीले पनि कसरी सवारीसाधनको आवश्यकता भएका मानिसलाई सवारीसाधन किन्न सक्ने अवस्था ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै ज्योतिले भने ‘न्यूनतम रकम डाउन पेमेन्ट र मासिक किस्तामा कसरी ग्राहकलाई मोटरसाइकल र गाडी दिन सकिन्छ भनेर काम गरिरहेका छौं ।’
मानिसको तलव समयमा पाउन सकेका छैनन् । उनिहरु आफुलाई सार्वजनिक यातायातमा तत्काल यात्रा गर्न नचाहने अवस्था सृजना भइरहेको छ । यस्तोमा हामीले उनिहरुको तलव नियमित नहुन्जेलसम्म अत्यन्त न्यून मासिक किस्तामा सवारीसाधन उपलब्ध गराउन सकिन्छ कि भन्ने विषयमा वोर्कआउट गरिरहेको ज्योतिले बताए ।

मासिक १ रुपैयाँ किस्तामा पो सवारीसाधन दिनु पर्ने हो कि, वा डाउन पेमेन्टमा केही सरलिकृत गर्नु पर्ने हो, यसमा आफुहरु छलफल गरिरहेको उनको भनाई छ ।

सरकारले अटोमोवाइल क्षेत्रलाई गदाहको रुपमा लिएको भान सबै व्यवसायीलाई भैरहेको ज्योतिको भनाई छ । जति बेलापनि कर थप्ने काम भइरहेको छ । नेपालमा एउटा गाडी किन्ने रकमले भारतमा ३ वटा गाडी किन्न सक्ने अवस्था छ भने एउटा मोटरसाइकल किन्ने पैसाले २ वटा किन्न सक्छन् । यति धेरै कर लगाएको क्षेत्रलाई संकटको समयमा केही सहुलियत दिनु पर्छ भन्ने आफुहरुको माग रहेको उनले बताए ।

‘अहिले ५० हजार डलरभन्दा बढी खरिद मूल्य भएको गाडी सरकारले नेपाल नल्याउने भनेको छ । यद्यपी हाम्रो बैदेशिक मुद्रा संचितिको अवस्था हेर्दा यस्तो निर्णय तत्काल गर्नु पर्ने जस्तो लाग्दैन’, ज्योतिले भने ।

अटोमोवाइल व्यावसायलाई पारदर्शी बनाउन व्यवसायीले हरेक तीन महिनामा आफ्ना उत्पादनको मूल्यसूची प्रकाशन गर्दै आएको बताउँदै ज्योतिले भने ‘यति पारदर्शी क्षेत्रबाट सरकारले वार्षिक एक खर्बभन्दा बढी राजस्व उढाउँदै आएको छ । यस्तोमा यो क्षेत्रलाई राहत दिन बन्डेड वेयर हाउसको व्यवस्था गर्न हो भने केही राहत यो क्षेत्रले पाउने अवस्था छ । अहिले हामीले भन्सार बिन्दुमा तिर्ने करलाई बिजक जारी गर्ने समयमा तिर्ने व्यवस्था बन्डेड वेयर हाउस मार्फत हुन्छ ।’

‘अटोमोवाइल व्यवसायीले पनि आफ्नो व्यवसाय डिजिटल गर्नु पर्ने अवस्था आएको छ । अनलाइनबाटै सवारीसाधन छनोट गर्ने र घर घरमा डेलिभरी दिने अवस्था निर्माण गर्नु पर्ने बाध्यता आएको हो । त्यसैले कोरोनापछि व्यवसायको स्वरुप परिवर्तन हुने देखिएको छ । कोरोनापछि गाडी कम्पनीहरुले भाइरस सेफ्टीमा ध्यान दिन सुरु गरिसकेका छन्’, ज्योतिले भने ।


Back_to_top