काठमाडौं । भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बेच्न नपाइने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेकी हुन् ।
उनले भन्सार छुटमा आयात हुने सवारीसाधन कसैले २० वर्ष नपुगी बिक्री वा नामसारी गरेमा पूरै महसुल तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेकी हुन् ।
‘भन्सार छुटमा पैठारी गरिएका बस तथा ढुवानीका साधन २० वर्ष नपुगी नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गरेमा प्रचलित कानुन बमोजिम पूरै महसुल लाग्नेछ,’ उनले राखेको संशोधन प्रस्तावमा भनिएको छ ।
प्रस्तावित विधेयकमा विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापित उद्योगलाई समेत एक पटकका लागि १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने गरी सवारी साधन आयात गर्न दिइने व्यवस्था प्रस्ताव गरिएको छ । यसरी छुटमा ल्याएको सवारीसाधन १० वर्षसम्म नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाइने व्यवस्था छ । उक्त व्यवस्थालाई संशोधन गरी २० वर्ष पुर्याउनु पर्ने सांसद गौतमको प्रस्ताव छ ।
हाल दूध तथा कृषिजन्य उत्पादन ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स आदिमा सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा महसुल छुट हुने व्यवस्था छ ।
।

