काठमाडौं । बाइकर्स नेपाल प्रालिले नेपाली बजारमा डर्ट बाइक बिक्री गर्दै आएको छ । तर, कम्पनीले बिक्री गर्ने बाइक तत्काल किन्न भने सकिदैन । कम्पनीले नेपाली बजारमा क्रस–एक्स ब्राण्डको मोटरसाइकल बिक्री वितरण गर्दै आएको हो ।
यसलाई किन्न चाहने ग्राहकले अग्रिम बुकिङ गरेर मात्र किन्न सकिने कम्पनीले जनाएको छ ।
बजारमा डर्ट बाइकका पारखीको वृद्धिसँगै विभिन्न कम्पनीले नयाँ ब्राण्डका मोटरसाइकल ल्याइरहेको समयमा बाइकर्स नेपालले नयाँ ब्राण्डको डर्ट बाइक ल्याएको हो । यो बाइकले बजारमा क्रसफायर २५० सँग सिधा प्रतिस्पर्धा गरिरहेको छ ।
स्टाइलिस डिजाइन, कम तौल भएको, सहज ह्याड्लीङ भएको सिएक्स २५० मोटरसाइकलमा डबल एक्जष्ट रहेको छ । कम्पनीले यसको मूल्य ५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
साथै, कम्पनीले सिएक्स २५० एससमेत नेपाली बजारमा ल्याउन सुरु गरेको छ । यसको मूल्य भने कम्पनीले ५ लाख ७५ हजार रुपैयाँ तोकेको छ ।
यी दुबै मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकको लागि कम्पनीले काठमाडौंको लाजिम्पाटमा शोरुम संचालन गरिरहेको छ । ग्राहकले एड्भान्समा २० हजार रुपैयाँ तिरेर बुकिङ्ग गर्न सक्ने छन् । बुकिङ्ग गर्ने ग्राहकले जनवरी २०२० मा आफ्नो बाइक पाउने छन् ।
क्रस एक्स २५० आरमा २५० सीसी ४ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ३० बीएच पावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ । फ्रन्टमा इन्र्भटेड हाइड्रोलिक फूल्ली एड्जष्टेवल सस्पेन्सन रहेको छ भने रियरमा क्वाइल स्प्रीङ हाइड्रोलिक सस्पेन्सन रहेको छ ।
यस बाइकमा ६.५ लिटरको फ्यूल स्टोरेज क्षमता रहेको छ । २१ इन्चको आल्मुनियम ह्वील रहेको यो बाइकको फ्रन्टमा २७० एमएमको ट्वीन पिस्टन क्यालिपर ब्रेक तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । ३०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलले राइडरलाई अफरोडमा उच्च आत्मविश्वास प्रदान गर्नेछ ।

