सुरक्षण मुद्रण केन्द्रले १ महिनामा कति छाप्यो लाइसेन्स ?

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले एक महिनामा ४ हजार बढी लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।

गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरू गरेको केन्द्रले १ महिनामा ४ हजार २०० थान लाइसेन्स छापेको हो ।

केन्द्रले ६ महिना भित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भए पनि विभागले डाटा नपठाउँदा लाइसेन्स छपाइले तीव्रता पाउन नसकेको हो । विभागले डाटा उपलब्ध नगराएकाले ठूलो परिमाणमा लाइसेन्स छाप्न नपाइएको केन्द्रले जनाएको छ ।

विभागले हाल दैनिक अत्यावश्यक लाइसेन्स छपाइका लागि मात्रै केन्द्रमा डाटा पठाउँदै आएको छ । केन्द्रले सोही अनुसार छापेर विभाग पठाउने गरेको छ । हालसम्म ६ हजार डाटा पठाएकोमा ४ हजार २०० छापेर पठाएको हो ।

सम्झौता अनुसारको लाइसेन्स छपाइका लागि विभागले सफ्टवेयर निर्माण गरी डाटा पठाउनुपर्नेछ । यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले अहिले दैनिक रुपमा अत्यावश्यक लाइसेन्सको मात्रै डाटा पठाउने गरिएको बताए ।

उनले १२ लाख लाइसेन्स छपाइका लागि डाटा पठाउन सफ्टवेयर बनाउनुपर्ने भएकाले केही ढिलाइ भएको बताए । उनले सफ्टवेयर निर्माणका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

‘अहिले इमरजेन्सी लाइसेन्स छपाइका लागि मात्रै डाटा पठाउँदै आएका छौं । दैनिक ५०० लाइसेन्स छाप्ने भनिए पनि औसतमा ३००/३५० मात्रै आवेदन पर्ने गरेको छ,’ उनले मेरोअटोसँग भने, ‘एकैपटक ठूलो परिमाणमा लाइसेन्स छाप्न हामीले सफ्टवेयर बनाएर डाटा दिनुपर्छ । अहिले सफ्टवेयर निर्माणका लागि टेन्डर खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । चाँडै सफ्टवेयर बनाइ डाटा उपलब्ध गराउँछौं ।’

सफ्टवेयर बनेपछि लाइसेन्स छपाइले तीव्रता पाउने उनले बताए । उनले केन्द्रले दैनिक २०/२५ हजार लाइसेन्स छाप्न सक्ने भएकाले समयमै छापिसकने बताए । ‘अहिले सफ्टवेयर बनाउन केही समय लागेको हो । बनिसकेपछि सबै डाटा पठाउँछौं । केन्द्रले एकदिनमै २५ हजारसम्म लाइसेन्स छाप्न सक्छ । तोकिएकै समयमा सकिन्छ,’ उनले भने ।

केन्द्र र विभाग बीच गत कात्तिक दोस्रो साता ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने स्म्झौता भएको थियो ।


Back_to_top