काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले ३० प्रतिशत डाउन पेमेन्टमा नै डस्टर किन्न सकिने योजना सार्वजनिक गरेको छ । रेनो डस्टरको फेसलिफ्ट मोडल बजारमा ल्याएसँगै कम्पनीले ३० प्रतिशत डाउन पेमेन्टमा गाडी दिने स्कीम सार्वजनिक गरेको हो ।
कुनै पनि पुरानो गाडी ल्याएरपनि ग्राहकले नयाँ डस्टरसँग एक्सचेन्ज सुविधा सहित खरिद गर्न सक्ने छन् ।
फ्रेन्च अटो मेकर रेनोले भारतमा निर्माण गरेको कम्प्याक्ट एसयूभी डस्टर भारतीय बजारमा एसयूभी सेग्मेन्टमा ‘ट्रेण्ड सेटर’ हो । डस्टरको सफलता पछि भारतमा अन्य कम्पनीहरुले पनि कम्प्याक्ट एसयूभी बनाउन थालेका हुन् ।
सन् २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री सुरुभएपछि पहिलो पटक डस्टरको फेसलिफ्ट मोडल आएको हो । यो सेग्मेन्ट मै सस्तो मूल्यको डिजेल एसयूभी समेत हो ।
यसको एक्सटेरियरमा नयाँ प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रिडिजाइन क्रोम फ्रन्ट ग्रिल, रि–डिजाइन फ्रन्ट बम्पर जस्ता परिवर्तन सहजै देख्न सकिने छ । रेगुलर मोडलको तुलनामा आकर्षक तरिकाले अगाडि र पछाडि स्कीड प्लेट जोडिएको छ । यसमा दिइएको नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलले एसयूभीलाई निकै बोल्ड देखाएको छ ।
कम्पनीले पुरानोको तुलनामा नयाँ मोडलको क्याबिन प्रिमियम बनाउन कुनै कसर छाडेको छैन । यसमा दिइएको नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्मोनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ ।
फेसलिफ्ट डस्टरमा कम्पनीले ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ ।
यस मोडलमा म्यानुयल एसी, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री र रियर वाइपरको विशेषता दिइएको छ ।
अहिले नेपालमा उपलब्ध फेसलिफ्ट मोडल आरएक्सएस भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा १.५ लिटरको डीसीआई इन्जिन रहेको छ, जसले ८५ बीएच पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा बीएस-६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।

