भारतमा इथानोलको विरोधमा खुल्यो पार्टी, तयारी गरिरहेको नेपालमा किन चुनौतीपूर्ण ?

काठमाडौं । विश्वभर पेट्रोलियम पदार्थमा निर्भरता घटाउने र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले इथानोल मिश्रित पेट्रोलको प्रयोग बढाउँदै लगिएको छ ।

छिमेकी देश भारतले २० प्रतिशत इथानोल मिश्रित पेट्रोल (ई २०) बिक्री सुरू गरिसकेको छ । यसैबीच, छिमेकी राष्ट्र भारतमा ई २० लागू भएसँगै यसको प्रभावबारे बहस चुलिएको छ । एकातिर भारत सरकारले ई २० पेट्रोेललाई सुरक्षित दाबी गरिरहेको छ भने अर्कोतर्फ विशेषगरी पुराना सवारी साधन प्रयोगकर्ताबाट माइलेज घटेको, मर्मत खर्च बढेको तथा सवारी साधनको पर्फमेन्समा गिरावट आएको गुनासो बढ्दै गएको छ ।

भारतमा ई २० को विरोधमा राजनीतिक पाटी समेत खुलेको छ । कक्रोच पार्टीको सफलतासँगै भारतमा ई २० जनता पाटी खुलेको हो । यो पार्टीले सरकारले ई २० बाहेक शुद्ध पेट्रोल पनि बिक्री गर्ने विकल्प दिनुपर्ने, केन्द्रीय सडक यातायात एवम् राजमार्ग मन्त्री नितिन गडकरीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

साथै, इन्धनमा स्पष्ट लेबल लगाइनुपर्ने, फरक फरक इन्धन मिश्रणको लागत र फाइदाबारे सरकारी तथ्यांक सार्वजनिक गरिनुपर्ने, माइलेज, इन्जिनको क्षमता, उत्सर्जन तथा मर्मत खर्चबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराएर त्यसको नतिजा जनतासामु ल्याइनुपर्ने माग राखेको छ । केही दिनमै यसलाई लाखौंले समर्थन समेत गरेका छन् ।

भारतमा किन भइरहेको छ विरोध ?

सामाजिक संजालमा ई २० पेट्रोलको प्रयोगसँगै सवारी साधनको माइलेज घटेको गुनासो व्यापक चर्चा हुन थालेको छ । इथानोल मिसाइएको पेट्रोलमा साधारण पेट्रोलमा इनर्जी डेन्सिटी कम हुने भएकाले धेरै उपभोक्ताले माइलेज घटेको महसुस गरेका हुन् । हालै भएको एक सर्वेक्षणमा पनि २०२३ भन्दा अघि बनेको सवारी साधनमा १० प्रतिशतले माइलेज घटेको दाबी गरेको छ ।

ई २० का लागि डिजाइन नगरिएका पुराना कार तथा मोटरसाइकलमा इन्धन पाइप, रबर सिल, फ्युल पम्प तथा इन्जेक्टरजस्ता पार्ट्समा दीर्घकालीन असर पर्न सक्ने सम्भावनाबारे विज्ञहरूले पहिले नै चेतावनी दिँदै आएको थिए । इथानोलका कराण २०२३ भन्दा पुराना सवारी साधनमा खर्च बढ्न सक्ने चिन्ता थपिएको छ । यतिमात्र होइन पुराना सवारी साधनको पर्फमेन्समा समेत गिरावट भएको धेरै उपभोत्ताको गुनासो सुनिन थालेको छ ।

सुरक्षित रहेको सरकारको दाबी

उपभोक्ताको गुनासोका बीच भारत सरकारले भने ई २० सुरक्षित रहेको बताउँदै आएको छ । सरकारका अनुसार एआरएआई, सायम, आइओसीएल लगायतका संस्थाहरूले गरेको परीक्षणमा ई–२०ले इन्जिनमा असामान्य क्षति पुर्याइको प्रमाण नभेटिएको दाबी गरेको छ । सरकारले व्यापक रूपमा इन्जिन बिग्रिएको वा अत्याधिक माइलेज घटेको पुष्टि हुने तथ्य प्राप्त नभएको पनि जनाएको छ ।

के हो ई २० पेट्रोल ?

ई २० अर्थात् २० प्रतिशत इथानोल मिसाइएको पेट्रोल हो । यसमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोलको मात्र हुन्छ । इथानोल मुख्यतः उखु, मकै तथा अन्य कृषि उत्पादनबाट तयार पारिने जैविक इन्धन (बायोफ्युल) हो । कच्चा तेलको आयात घटाउने, कार्वन उत्सर्जन कम हुने र स्थानीय कृषी उत्पादनलाई प्रोत्साहन गर्न इथानोलले मद्दत गर्छ ।

नेपालका लागि किन चुनौतीपूर्ण हुनसक्छ?

नेपाल सरकारले पेट्रोलमा इथानोल मिसाउने तयारी गरिरहेको छ । ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ स्वीकृति गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । आयल निगमले पनि चाँडै १० प्रतिशत इथानोल मिसाएको पेट्रोल बिक्री गर्न आवश्यक तयारी गरिरहेको छ ।

भारतको तुलनामा नेपालमा चलिरहेको धेरै पेट्रोल सवारी साधन पुराना छन् । अझै पनि ठूलो संख्यामा दशकभन्दा पुराना मोटरसाइकल, कार संचालनमा छन् । जुन ई २० पेट्रोका लागि उपयुक्त नहुन सक्छन् । यसबाहेक नेपालसँग ठूलो मात्रामा इथानोल उत्पादन गर्ने उद्योग, गुणस्तर मापन गर्ने प्रणाली तथा छुट्टै वितरण पूर्वाधार समेत विकास भइसकेको छैन् ।

सरकारले नेपालमा पनि आम रूपमा प्रयोगमा ल्याउनुभन्दा चलिरहेको सवारी सधानलाई स्याम्पलका रूपमा केही युनिटमा मात्र ई २० अनुकुलता अध्ययन गर्नुका साथै सवारी उत्पादक कम्पनीसँग प्राविधिक परामर्श लिएर अगाडि बढ्नु पर्ने देखिन्छ ।

निष्कर्ष

ई २० पेट्रोल आफैमा खराब इन्धन होइन । नयाँ पुस्ताका ई २० कम्प्याटिबल सवारीका लागि यो उपयुक्त हुन सक्छ । यसले आयातित पेट्रोलियम परनिर्भरतामा घटाउन तथा उत्सर्जन कम गर्न सहयोग गर्छ ।

तर नेपालमा अझै ठूलो संख्यामा पुराना सवारी सधान पेट्रोलबाट चल्ने भइको कारण पर्याप्त अध्ययन, परिक्षण र तयारीबिना लागू गरिए उपभोक्ताले माइलेज, मर्मत खर्च र सावरीको पर्फमेन्समा निकै चुनौती भोग्नु पर्ने जोखिम आउन सक्छ ।

भारतको अनुभवले नीति लागू गर्नु मात्रै पर्याप्त हुँदैन, त्यसका लागि बजार, सवारी र उपभोक्ता नै तयार हुनुपर्छ ।


Back_to_top