काठमाडौं । महिन्द्राले जनवरी २०२१ बाट भारतमा विक्री सुरु गर्न लागेको विद्युतीय कार केयूभी-१०० नेपालमा पनि भारतसँगै ल्याउने तयारी भइरहेको छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीका अनुसार नयाँ इलेक्ट्रीक केयूभी-१०० भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपालमा सार्वजनिक हुने छ ।
भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले इलेक्ट्रीक माइक्रो एसयूभी केयूभी-१०० को सबै किसिमको परिक्षण सकेर यसको विक्री वितरण सुरु गर्ने तयारी गरेको छ । कोभिड संक्रमणको कारण कम्पनीले यसको विक्री सुरु गर्ने मिति सार्दै आएको थियो ।
यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ ।
इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने जनाइएको छ । यो गाडीको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।
लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० करिब ३५ देखि ४० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।


