काठमाडौं । वेलायती चर्चित मोटरसाइकल कम्पनी रोयल इन्फिल्डले उत्पादन गरेका रेट्रो डिजाइनमा उत्पादन नेपाली बजारमा निकै मनपराइने गरेको छ । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल उत्पादन भने अहिलेसम्म गरेको छैन । यस्तोमा एक वेलायती कार निर्माता कम्पनी ‘इलेक्ट्रीक क्लासिक कार’ले बुलेटलाई इलेक्ट्रीकमा परिणत गरेको छ ।
अहिले विश्वभरको मिडियामा इलेक्ट्रीक बुलेटले स्थान पाएको छ । इलेक्ट्रीक क्लासिक कार कम्पनी वेलायतमा पुराना गाडीलाई इलेक्ट्रीकमा परिणत गर्ने चर्चित कम्पनी भएको बताइएको छ । उक्त कम्पनीले क्लासिक ३५० लाई इलेक्ट्रीक मोटरसाइकलमा परिणत गर्दा ४ वटा व्याट्रीको प्रयोग गरेको छ । उक्त ४ वटा व्याट्रीको संयूक्त क्षमता १० किलोवाट आवर रहेको जनाइएको छ ।

इलेक्ट्रीक क्लासिक ३५० रेगुलर मोडल जति नै पावरफुल रहेको बताइएको छ । यसले १६ बीएच पावर प्रदान गर्नेछ भने ५० देखि ५५ किलोमिटर प्रतिघन्टाको रफ्तार केवल ३ सेकेन्डमा भेट्टाउन सक्ने छ । मोटरसाइकलको उच्चगति ११२ किलोमिटर प्रतिघन्टा रहेको मोडिफाई गर्ने कम्पनी इलेक्ट्रीक क्लासिक कारले जनाएको छ ।
एकपटकको फुलचार्जमा १३० किलोमिटर रेञ्ज प्रदान गर्ने व्याट्रीलाई फार्स्ट चार्जरबाट चार्जगर्दा ९० मिनेटमा फुलचार्ज गर्न सकिने जनाइएको छ । अहिले मोडिफाइड क्लासिक ३५० चर्चाको शिखरमा रहेको छ । यसको नाम ‘फोटोन’ राखिएको छ ।


