दुई सरह केन्द्रित मिनी इलेक्ट्रीक ट्रक, मूल्य एउटै फिचरमा ठूलो भिन्नता

काठमाडौं । विद्युतीय कारको सफलतापछि विभिन्न कम्पनीले  इलेक्ट्रीक लाइट कमर्शियल गाडी नेपाल ल्याउने थालेका छन् ।

विद्युतीय कारपछि मिनी भ्यानको रुपमा ११ देखि १४ सिट क्षमताका गाडी आयात राम्रो भइरहेको समयमा मिनी ट्रकहरु पनि इलेक्ट्रीकमा आउन थालेका छन् । छाेटो दुरीमा सार्वजनिक यातायातको रुपमा माइक्रो भ्यानहरु प्रयोग हुन थालेसँगै सहरी क्षेत्रमा सामान ओसार पसार गर्न पनि विद्युतीय मिनी ट्रक उपयोगी हुने देखिएको छ ।

यसैक्रममा कमर्शियल सेग्मेन्ट लिडर टाटाले आफ्नो चर्चित एसको इलेक्ट्री भर्सन नेपाल ल्याएको हो । डिजेल इन्जिन भएको टाटा एस नेपालमा हात्ती गाडीको नामले चर्चित रहेको छ । पानी, ग्यास, तरकारी लगायतका एफएमसीजी प्रोडक्ट ओसार पसार गर्न उपयोगी मानिएको टाटा एसको इलेक्ट्रीक भर्सनले कस्तो ब्यापार गर्छ, त्यो थाहापाउन भने अझै केही महिना कुर्नु पर्ने हुन्छ ।

मिनी ट्रकमै रुपमा फोटोन टीएम–१ मोडल पनि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले टीएम–१ मोडल नाडा अटो शोबाट बिक्री सुरु गरेको हो । यसको सिधा प्रतिस्पर्धा हुने नै टाटा एस ईभीसँग हो ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको फोटोन टीएम–१ र सिप्रदीले ल्याएको टाटा एस ईभी बीच रहेका तुनात्मक भिन्नतालाई यहाँ हामीले केलाउने प्रयास गरेका छौं ।

लोड बोक्ने क्षमता, रेन्ज र ग्राउन्ड क्लियरेन्स

फोटोन टीएम भारी बोक्न सक्ने क्षमतामा अब्बल देखिएको छ । यसले एक पटकमा १४०० केजी भार बोक्न सक्छ । टाटा एसको भार बोक्ने क्षमता केवल ६०० केजी मात्रै रहेको छ ।

एक पटकको फुल चार्जमा फोटोन टीएम–१ को रेन्ज २८० किलोमिटर कम्पनीले दावी गरेको छ । तर, टाटाको दावी अनुसार एस ईभीले १६० किलोमिटर मात्रै रेन्ज दिन्छ । ग्राउन्ड क्लियरेन्समा पनि फोटोन अगाडि देखिएको छ । फोटोनमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहँदा टाटा एस ईभीमा १६० एमएम मात्रै छ ।

ब्याट्री, मोटर र पावर

ब्याट्रीमा पनि यी दुई मोडलमा प्रतिस्पर्धा हुँदैन । फोटोन टीएम–१ मा ३८. ६४ किलोवाट आवरको ब्याट्री रहेको छ । जबकी टाटा एस ईभीमा केबल २१.३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

फोटोनले ६० किलोवाटको मोटर दिँदा टाटाले २७ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । मोटर सानो हुँदा सानो ब्याट्री भएपनि टाटाले राम्रै रेन्ज पाउने देखिएको छ ।

टर्कमा पनि ठूलो भिन्नता छ । फोटोन टीएमले २२० एनएम टर्क प्रदान गर्दा टाटा एस ईभीले १३० एनएम मात्रै टर्क प्रदान गर्छ । टीएम–१ को टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको छ भने टाटा एस ईभीको ८० किलोमिटर रहेको छ ।

मूल्य

दुबै ब्राण्डले आफ्नो उत्पादनको मूल्य लगभग बराबर राखेका छन् । हिजो मात्रै सार्वजनिक भएको टाटा एस ईभीको मूल्य सिप्रदीले २९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ । तर, कम्पनीले फेस्टीभ डिस्काउन्ट भनेर २ लाख ५० हजार छुट घोषणा गरेको छ । अहिले एस ईभी किन्नेले २७ लाख रुपैयाँमा पाउने छन् ।

त्यस्तै एमएडब्लू वृद्धिले एमटी–१ मोडलको मूल्य २९ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको छ ।

 


Back_to_top