काठमाडौं । इलेक्ट्रीक स्कुटर विक्रेता कम्पनीहरु भाग्ने क्रममा सुरु भएको छ । नेपालमा लगभग ८० भन्दा धेरै ब्रान्डका स्कुटर आयात भइरहेका अवस्थामा सबैजसो कम्पनीहरुले आफ्नो सर्भिस तथा पार्टसमा लगानि नगरेर स्कुटरमा मात्र बेच्ने कार्य गर्दै आएका छन् ।
यसले इलेक्ट्रीक स्कुटर किन्न चाहाने ग्राहकहरुले ब्रान्ड प्रति विश्वास गर्न नसकेको देखिन्छ ।
नेपालमा इलेक्ट्रीक स्कुटर विक्री गर्ने सबैभन्दा पुरानो मध्ये एक कम्पनी मियामाले अहिले स्कुटर विक्री तथा सर्भिसको काम बन्द गरेको छ । यसले नेपालमा सुरुदेखिनै इलेक्ट्रीक स्कुटर चढ्दै आएका ग्राहकहरु मारमा परेका छन् ।
बालाजु नेपालटार बस्ने रोमश खतिवडाले आफ्नो इकर्मस कम्पनीका लागि किनेको मियामाको तीन थान इलेक्ट्रीक स्कुटर एक वर्ष नवित्दै ‘कवाडि’ भएको स्मरण गरे । ‘संचालन खर्च कम हुने तथा स्वदेशि विजुली प्रयोग गरेर चलाउन सकिने भन्दै महंगो मूल्य हालेर किनेको तीन वटा मियामा स्कुटर एक वर्ष नपुग्दै ब्याट्री खराव भयो । कम्पनीले बनाइदिन्छु भन्दा भन्दै कम्पनीनै भागेको ३ महिना पछि मात्र थाहा भयो । इकमर्स कम्पनीको लागि भनेर किनेको स्कुटर १ वर्ष चलाउन नपाउँदै कवाडिमा परिणत भयो ।’ खतिवडाले भने ।
मियामा नेपालमा इलेक्ट्रीक स्कुटर भित्र्याउने मध्येका एक कम्पनी भएको कारण विश्वास गरेर किनेको बताउँदै अव त इलेक्ट्रीक स्कुटर किन्नु अघि ग्राहकले कम्पनीको बारेमा खोजविन गरेरमात्र किन्नु पर्ने खतिवडा बताउँछन् ।
मियामाले गत वर्षदेखि आफ्नो सबै सेवा बन्द गरेको हो । बालुवाटार हुँदै पछिल्लो समय पुतलिसडकमा रहेको कम्पनीको सोरुम बन्द भएको १ वर्ष भइसकेको ग्राहकहरु बताउँछन् ।
त्यस्तै अवस्था छ मिकु दोहान इलेक्ट्रीक स्कुटर ग्राहकको । अघिल्लो वर्षसम्म नक्साल नारायण चौरमा भएको मिकुका सोरुम अहिले नारायण चौरमा छैन् । मिकुका स्कुटर तथा मोटरसाइकल आयात बन्द रहेको छ भने यस अघि किनेका ग्राहकले सेवा नपाउने अवस्था आएको छ ।
पछिल्लो समय ग्लोबल सेभेन नामक कम्पनीले विक्री गर्दै आएको इकोविट ब्रान्डको स्कुटर अहिले उपलब्ध हुन छाडेको छ । कम्पनीले मेट्रो पार्कमा शोरुम स्थापना गरेर २० यूनिट हाराहारीमा स्कुटर बेचे पश्चात कम्पनीको शोरुम अहिले बन्द अवस्थामा छ । दैनिक जसो ग्राहकहरु पार्ट खोज्न मेट्रो पार्क पुग्ने गरेतापनि कम्पनी नै भागेको अवस्था छ ।
यसले ग्राहकहरुले इलेक्ट्रीक स्कुटर विक्रेताहरुलाई विश्वास गर्न सक्ने वातारण नबनेको इभी विक्रेताहरु नै बताउँदै आएका छन् ।
पछिल्लो समय नेपालमा राम्रै व्यापार गर्दै आएका कम्पनीहरुले समेत पार्ट तथा सर्भिसको राम्रो व्यवस्था नगरेको ग्राहकहरुले गुनासो गर्दै आएका छन् । कोमाकी इलेक्ट्रीक स्कुटरमा समस्या आएको र पार्टस माग्दा कम्पनीले तल्लो स्तरको गालि गर्दै सामाजिक संजालमा आफुलाई ब्लक गरेको धनगढीका हिमाल आचार्यले मेरोअटोसँग बताए । अहिले नेपालमा विक्री गर्ने एकाध बाहेक सबै जसो कम्पनीसँग सर्भिस सेन्टर तथा पार्टस्को राम्रो ब्यवस्था छैन् । यसले गर्दा महंगो इलेक्ट्रीक कारहरुको विक्रीमा उछाल आउँदा पनि स्कुटरको विक्री भने बढ्न सकेको छैन् ।

