काठमाडौं । नेपालमा एकपछि अर्को विद्युतीय एसयूभी आइरहेको छ । बढ्दो विद्युतीय कार मोडलसँगै एसयूभी सेग्मेन्टमा कट थ्रोट कम्पिटिसन देखिन थालेको हो ।
यदि तपाईं अहिले विद्युतीय एसयूभी किन्ने योजनामा हुनुहुन्छ भने बीवाइडी एटो-३, ओमोडा ई-५, लीपमोटर सी-१०, जेको जे-६, नेटा एक्स, सेरेस-३, दीपल एस-०७, महिन्द्रा एक्सयूभी-४०० र हुन्डाई कोना ईभी तत्कालै किन्न सक्नुहुन्छ ।
त्यतिमात्रै होइन टाटा नेक्सन ईभी, हुन्डाई आयोनिक-५, टाटा पन्च ईभी, सिट्रोन इसीथ्री, एवोन-भी, अवतार-११, किया ईभी-९, एवोन वाई, किया ईभी-६, स्मार्ट ह्यासट्याग-३, एक्सपेङ जी-६, एलइभी-०१, जिकर एक्स, दीपल ई-०७, स्काइवेल इटी-५, केई एक्स-थ्री प्रो र एमजी जेडएस ईभी जस्ता मोडल पाउनु हुन्छ ।
माथि उल्लेख भएका एसयूभीहरू अहिले नेपालमा बिक्री भइरहेका मोडल हुन् । अबको एक महिना भित्रै बजारमा प्रवेश गर्न लागेका एसयूभीको लिष्ट पनि लामै छ । ती मध्ये केही ब्राण्डले आफ्ना नयाँ मोडल नेपाल नै ल्याइसकेका छन् ।
टाटा कर्भ ईभी नेपाल आइसकेको छ । प्रोटोन इमास-७ पनि काठमाडौं आइपुगेको तीन साता भइसक्यो । आगामी साता एमजी एस-५ र हुन्डाई क्रेटा ईभी नेपाल आउँदैछ । त्यसैगरी, दीपल एस-०५, बीवाइडी एटो-२ र डोङफेङ फरथिङ फ्राइडे ईभी पनि मार्च अन्तिमसम्ममा नेपाल आइसक्नेछन् ।
अझ रोचक के छ भने २०२५ मा अन्य करिब २० मोडल नेपाल आउने छ । ती सबै मोडल बजारमा उपलब्ध भएसँगै ईभीमा थप कडा प्रतिस्पर्धा सुरू हुनेछ । नेपालमा विस्तारै प्राइस वार सुरू भएको छ । नयाँ प्रतिस्पर्धीको रणनीति कस्तो हुन्छ अझै बुझ्न कठिन छ ।
सरकारले बजेट मार्फत लिने नीतिले पनि ईभीको प्रतिस्पर्धालाई रोचक बनाउने छ । साथै, अबको प्रतिस्पर्धा बिक्रीमा मात्रै सीमित नभएर चार्जिङ पूर्वाधार, सर्भिस नेटवर्क, पार्टस्को उपलब्धता जस्ता विषयमा हुनेछ ।
होला प्राइस वार ?
मागभन्दा आपूर्ति धेरै भएपछि मूल्यमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । सरकारले १० प्रतिशत मात्रै भए पनि ईभीमा कर बढाउने कुरा स्वभाविक भएको व्यापारीहरू नै बताउँछन् ।
सरकार पनि कर उठाउन नसकेर अन्य क्षेत्र खोज्दै हिँडेको समयमा ईभीको स्वीकार्यता बढेको कारण थप कर लगाउनु पर्छ भन्ने मान्यताबाटै अगाडि बढेको देखिन्छ । त्यसैले व्यवसायीहरूले वैशाख र जेठको पहिलो सातासम्म ठूलो परिमाणमा विद्युतीय गाडी आयात गर्ने योजना बनाइसकेका छन् ।
गत आर्थिक वर्षमा पनि वैशाख र जेठको एक सातामा कुल आयातको २५ प्रतिशतभन्दा बढी ईभी आयात भएको थियो । त्यसैलाई मात्रै आधार बनाउने हो भने पनि यो वर्ष वैशाखमा ५ हजार युनिट हाराहारी विद्युतीय कार आयात हुने देखिन्छ ।
बजारमा सप्लाई बढेसँगै अघिल्लो नाडा अटो शोको जस्तै प्राइस वार देखिने छ ।

