यी ३ प्रकारका सवारीले मात्रै असारभित्रै अनिवार्य इम्बोस्ड राख्नुपर्ने

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले असार मसान्तभित्रै सबै सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुनपर्ने बताएको छ ।सडकदेखि सदनसम्म सरकारको व्यापक विरोध भएपछि यातायात व्यवस्था विभाग सो व्यवस्थाबाट पछि हटेको हो ।

मंगलबार पत्रकार सम्मेलन आयोजना विभागले साउन १ गतेसम्म वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै असारभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताए । उनका अनुसार २०७८ मंसिर १ गतेपछि खरिद गरेका नयाँ सवारीसाधन र २०७८ फागुन १ गतेपछि पुराना सवारी खरिद गरी नामसारी गरिएका सवारीसाधनमा साउन अगावै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

त्यस्तै, २०७९ जेठ १ गतेपछि नवीकरण गरिएका सवारीसाधनमा पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ । विभागले जेठ २० गते सूचना जारी गर्दै असारसम्म सबै सवारीसाधनले अनिवार्य नम्बर इम्बोस्ड जडान गर्नपर्ने बताएको थियो ।

यातायात कार्यालयको क्षमता र आवश्यक पूवाधारको व्यवस्था बिनै उर्दी जारी गरेको भन्दै उक्त व्यवस्थाको चौतर्फी विरोध भएको थियो भने यातायात कार्यालयहरुमा भीड समेत बढेको थियो ।


Back_to_top