काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आग्रह गरेको छ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै अव्यावहारिक विषयहरू संशोधन नगरेसम्म सार्वजनिक, निजी, ढुवानीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो ।
‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरू बीचको छलफल संवाद बीच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, महासंघले सरकारले जबरजस्ती इम्बोस्ड जडान गर्न खोजे विरोध गर्ने चेतावनी समेत दिएको छ । त्यसबाट उपज हुने थप गतिविधि प्रति मनत्रालय मातहतका निकाय नै जिम्मेवार हुने महासंघले जनाएको छ ।
अहिलेकै अवस्थामा इम्बोस्ड जडान गर्दा नेपाली भाषाको देवनागरी लिपि लोप हुने, आवश्यक पूर्वाधारविना नै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा निर्णय गरेको महासंघले बताएको छ । सोही कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ ।

