काठमाडौं । बागमती प्रदेशमा रहेका सबै किसिमका सवारीसाधनमा इम्बोष्ड नम्बर प्लेटको लागि अनलाइनबाट आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा बागमती प्रदेशमा रहेका सबै किसिमका सवारी साधनमा साउन १ गतेबाट इम्बोष्ड नम्बर प्लेट वितरण सुरु गर्ने भएको हो ।
मोटरसाइकल तथा स्कुटरधनीहरुले इम्बोष्ड नम्बर प्लेटको लागि घरबाटै आवेदन दिन सक्ने छन् । विभागको वेभसाइट dotm.gov.np मा रहेको ‘एम्बोष्ड नम्बर प्लेट’ बडममा क्लिक गरेपछि आवश्यक विवरण त्यहाँ भर्नु पर्ने हुन्छ । विवरण भरिसकेपछि आफुले भरेको विवरण प्रिन्ट गर्न सकिने छ ।
यसरी अनलाइनमा आवेदन दिने ग्राहकले आफ्नो सवारी साधनको राजस्व भने चुक्ता गरेको हुनु पर्ने छ । साविकको बागमती अञ्चलमा मात्रै सुरुवातमा यो सेवा उपलब्ध रहने हुँदा गुर्जुधारा यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) मा र राजस्व दाखिला ग्लोबल आईएमइ बैंकमा बुझाउनु पर्ने हुन्छ । मोटरसाइकल तथा स्कुटरको नम्बर प्लेटको लागि २ हजार ५०० रुपैयाँ लाग्ने छ ।
यसरी राजस्व दाखिला, कर चुक्ता भएका कागजात र अनलाइन प्रणालीमा उल्लेख भएका सबै कागजात यातायात व्यवस्था कार्यालय गुर्जुधारामा प्रमाणिकरणको लागि बुझाउनु पर्छ ।
सम्बन्धीत कार्यालयबाट प्रमाणिकरणपछि इम्बोष्ड नम्बर प्लेटको छपाई सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ । त्यसपछि आफ्नो नम्बर प्लेट तयार भए वा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत जानकारी पाउने छन् ।

