सस्ता इलेक्ट्रीक कार बनाउन विश्व लकडाउनले देखाएको नयाँ बाटो

काठमाडौं । अहिले विश्व कोरोना (कोभिड १९) भाइरसको कारण लकडाउन भएको छ । यसले विश्वभर पेट्रोलियम पदार्थको प्रयोग घटेको छ भने, विश्वको वातावरणमा ठूलो सुधार आएको छ ।

अहिले भइरहेको लकडाउनको कारण विश्वमा २० प्रतिशतभन्दा कम सवारीसाधन संचालनमा आएका छन् भने, सही हाराहारीमा उद्योगधन्दा कलकारखाना संचालनमा रहेका छन् । लकडाउन कै कारण मानिसको आवतजावतपनि अत्यन्त कम रहेको छ । जसको सिधा फाइदा वातावरणमा भएको छ ।

पेट्रोलियम पदार्थको जलनबाट निस्कने धुवाँ नै अहिले विश्व वातावरणमा सबैभन्दा हानिकारक रुपमा रहेको नेपाल जस्ता देशमा आएको वातावरण सुधारले प्रस्ट पारेको छ ।

लण्डनबाट पेरिसमा रहेको आइफल टावर देखिएको तस्विर र भिडियोहरु अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । जनावरहरु सडकमा निस्किएका छन् । माछाहरु खेल्दै समुन्द्रको तटमा देखिएका छन् । यसले समग्र विश्वमा नयाँ किसिमको माहौल सृजना भएको छ ।

पेट्रोलियम पदार्थको प्रयोगमा आएको कमीको कारण कच्चा तेलको मूल्य आधा शताब्दीकै सस्तो भएको छ । गाडी उत्पादन गर्ने उद्योगहरु बन्द अवस्थामा रहेका छन् । त्यसैले अब गाडी उत्पादकहरु नयाँ यूगमा प्रबेश गर्ने छन् ।

इलेक्ट्रीक कार अव निर्विकल्प बन्ला ?

अहिले देखिएको वातावरण सुधारलाई आधार मान्दा पेट्रोलियम पदार्थको विकल्पमा इलेक्ट्रीक वा हाइड्रोजन फ्यूल सेल गाडी अबको आवस्यकता हो भन्ने प्रस्ट भएको छ ।

अहिलेसम्मलाई आधार मान्दा इलेक्ट्रीक गाडी तुलनात्मक रुपमा महंगो मूल्यको कारण विश्वव्यापी बन्न सकिरहेको छैन । यद्यपी व्याट्रीको मूल्यमा क्रमिकरुपमा आएको कमीले अब इलेक्ट्रीक गाडी उत्पादन र प्रयोगलाई विश्वले नै अंगिकार गर्नु पर्ने अवस्था आएको छ ।

अहिले कम मूल्यमा इलेक्ट्रीक कार बनाउन धेरै कम्पनी लागि रहेका छन् । कम मूल्यमा इलेक्ट्रीक कार ल्याउन बीवाइडी र टोयोटाले नयाँ कम्पनी नै स्थापना गरेका छन् भने, फक्सवागनले कम मूल्यमा इलेक्ट्रीक कार ल्याउन आफुले काम गरिरहेको जनाएको छ ।

धेरै चिनीयाँ कम्पनीहरुले इलेक्ट्रीक कार उत्पादनलाई जोड दिदै विश्व बजारमा नाम चलेका कम्पनीहरुसँग सम्झौँता गरेर अगाडि बढी रहेका छन् । त्यसैले यो लकडाउन सकिएर विश्व पुनः आफ्नो रफ्तारमा दौडन सुरु गरेपछि कम मूल्यका इलेक्ट्रीक कार उत्पादनले प्राथमिकता पाउने छ ।

अटोमोवाइलका जानकारहरुका अनुसार सन् २०२४ सम्ममा इलेक्ट्रीक कारको मूल्यमा ३० प्रतिशतले कमी आउने छ । त्यसपछि विश्वले इलेक्ट्रीक उत्पादनको प्रयोगलाई तिब्रता दिने छ । आशा गरौ, अहिले देखिएको वातावरण सुधारमा विश्वका सरकारहरु नयाँ नीति निर्माणगरि वातावरण बचाउन लाग्ने छन् ।


Back_to_top