२० लाखदेखिका विद्युतीय कार अटो शोमा किन्न पाइने

काठमाडौं । विद्युतीय ब्राण्डले नाडा अटो शो २०२२ मा सक्रिय सहभागीता जनाउने भएका छन् । बीवाइडी, हेनरी, दिगो र नेटा भीले आफ्नो इलेक्ट्रीक कार प्रदर्शनी गर्ने भएका छन् ।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले नयाँ कार एटो थ्री, हेनरी ब्राण्डको टाइगर मोडल, दिगोको जेएसी इलेक्ट्रीक पीकअप र सीजी मोटर्सले नेटा भीलाइ प्राथमिकतामा राखेर प्रदर्शनी गर्ने भएका छन् ।

त्यसको साथै, यसअघि नै बजारमा रहेका हुन्डाइ, टाटा, एमजी र निसानले पनि आफ्ना इलेक्ट्रीक कारलाइ प्राथमिकतामा राखेर प्रदर्शनी गर्ने छन् ।

भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२२ मा इलेक्ट्रीक कार सेग्मेन्टमा नयाँ मोडल र पुराना चल्तीको मोडल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अटो शोको मुख्य आकर्षण बीवाइडी एटो थ्री

मूल्यको हिसाबले महंगो पर्ने भए पनि बीवाइडीको नयाँ एसयूभी एटो थ्री सर्वाधिक चर्चित मोडल बन्ने अनुमान लगाउन सकिन्छ । कम्पनीले ल्याउन लागेको एटो थ्री एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछ ।

बीवाइडी एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम भएकाले यो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कार क्रेटा, सेल्टोस, टाइगुन, कुशकभन्दा ठूलो छ । यसमा २७२० एमएमको ह्वीलबेस रहेको छ ।

एटो थ्रीमा १५० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर उपलब्ध रहेको कारण अहिले सरकारले बढाएको कर अनुसार यसमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्नेछ । जसको कारण यसको मूल्य ८० देखि ८५ लाख सम्म पर्ने अनुमान गरिएको छ ।

बीवाइडीले नेपाल ल्याउने एटो थ्रीमा ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री रहने छ । डब्लूएलटीपीको परीक्षण अनुसार यसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिनेछ ।

सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाइ लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।

सबैभन्दा सस्तो हेनरी टाइगर

पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको हेनरी ब्राण्डको टाइगर मोडल बी सहरी क्षेत्रको लागि उपयुक्त मोडल हो । थोरै लगानीमा आफ्नो सहरी यात्राको आवश्यकता पूरा गर्ने यो कारको मूल्य २२ लाख निर्धारण गरिएको छ ।

केही समय अघि मात्रै नेपाल आएको यो कारले एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । पीक पावर ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ ।

विद्युतीय गाडी भएको कारण यसमा धेरै किसिमका आधुनिक फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयू लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ । मूल्यको हिसाबले अटो शोमा उपलब्ध हुने सबैभन्दा सस्तो कार हेनरी टाइगर नै हुनेछ ।

मिड रेन्जमा नेटा भी

चौधरी समूहले नेपाल ल्याएको नेटा भी अहिले निकै चर्चा भइरहेको कार हो । यसमा उपलब्ध फिचर र टेस्ला जस्तै डिजाइनमा तयार भएको बडी डिजाइनको कारण यसको चर्चा भइरहेको हो ।

सीजी मोटर्सले ३७ लाख ९९ हजार मूल्य तोकेर विक्री सुरू गरेको यो कार असार अन्तिमबाट ग्राहकलाइ डेलिभरी दिने तयारी कम्पनीले गरिरहेको छ । कम्पनीले नेपाल ल्याएको नेटा भीमा स्पोर्टस् कारबाट प्रेरित टु स्पोक स्टेरिङ ह्वील, सार्प ड्यासबोर्ड र पियू लेदर सिट पाउन सकिन्छ ।

नेपाल आएको नेटा भीमा ३८ किलोवाट आवरको क्याटलले उत्पादन गरेको ब्याट्री रहेको छ भने ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । कम्पनीले यसमा ६.६ किलोवाट क्षमताको चार्जर गाडीसँग दिने जनाएको छ । आगामी अटो शोमा यसले पनि राम्रै चर्चा पाउने निश्चित छ ।

पहिलो पटक इलेक्ट्रीक पीकअप

नाडा अटो शोमा पहिलो पटक इलेक्ट्रीक पीकअप प्रदर्शनी हुने भएको छ । दिगो ग्रुपले ल्याएको जेएसी ब्राण्डको इलेक्ट्रीक पीकअप अटो शो २०२२ मा प्रदर्शनी हुने कम्पनीले जनाएको छ ।

पेट्रोल/डिजेलबाट चल्ने डबलक्याब जस्तै देखिने जेएसीको इलेक्ट्रीक पीकअपको मूल्य ७२ लाख रुपैयाँ निर्धारण गरिएको छ । चालकसहित ५ जना मानिसले अगाडि आरामसँग यात्रा गर्न सक्ने यो पीकअपमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

‘जेएसीको टी ८’ मा ६७.२ किलोवाट क्षमताको लिथियम आयोन फस्फेड ब्याट्री दिइएको छ । यसमा रहेको ब्याट्रीलाइ एक पटकको फुलचार्ज गरेपछि ३०० किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । यसमा रहेको ‘पीएमएसएम’ मोटरले अधिकतम १५० पीएस पावर र ३३० एनएम टर्क प्रदान गर्छ ।

यो पीकअपमा इलेक्ट्रीक हाइड्रोलिक स्टेरिङ, अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । अटोमेटिक गियरबक्स, रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम, म्यनुयल एसी, लेदर सिट, चार्जिङ इन्डिकेटर, स्टेरिङ ह्वील अडियो कन्ट्रोल, तल माथि मिलाउन मिल्ने स्टेरिङ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, डायमन्ट कट अलोय ह्वील, एबीएस, ओबीएस, सिट वेल्ट, एलइडी रनिङ लाइट, अगाडि र पछाडि फगल्याम्प जस्ता फिचर उपलब्ध रहेका छन् ।

चल्तीका ब्राण्डको फोकस पनि इलेक्ट्रीकमा

अहिले बजारमा चल्तीका ब्राण्ड एमजी, हुन्डाइ, टाटा र निसानले पनि विद्युतीय गाडीलाइ प्राथमिकतामा राखेर प्रदर्शनी गर्ने छन् । हुन्डाइले आयोनीक फाइभ र कोना प्रदर्शनी गर्नेछ । त्यसैगरी एमजीले फेसलिफ्ट जेडएस, टाटाले नेक्सन र टिगोर तथा निसानले लिफ ईभी प्रदर्शनी गर्ने छन् ।


Back_to_top