नाडाद्धारा चितवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोबाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

असार ४ गते चितवनको भरतपुरमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरूमा थप अन्योलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरूले आफनो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको बताए ।

अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनहरूको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरूको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए । यसै क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए ।

आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ(आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।


Back_to_top