इलेक्ट्रीक कारको ब्याट्री कति प्रतिशत चार्ज गर्ने ? यस्तो छ इन्जिनियरको सुझाव

काठमाडौं । विद्युतीय साधन विश्वको लागि नै नयाँ खोज हो । त्यसैले यसका फाइदा र वेफाइदाका विषयमा जोडतोडले बहस हुने गरेको पाइन्छ । प्रायः सबै ईभी प्रयोगकर्तालाई गाडीमा हुने हाइ भोल्टेज ब्याट्री मोवाइल फोनको जस्तै छिटै ‘डिग्रेडेशन’ हुन्छ कि भन्ने डर भइरहेको भेटिन्छ ।

मोवाइल फोनमा जस्तै तिब्र गतिमा ब्याट्री हेल्थ घट्न गई फुल चार्जमा २०० किलोमिटर पाइन्छ भनेको कार १/२ वर्षमै १६०/७० किलोमिटर पनि चलाउन नसकिने पो होकी भन्ने शंका गर्नेहरु छन् ।

त्यसैले विद्युतीय साधनको ब्याट्री लाइफ र रेन्ज बढाउने टिप्सहरु खुबै चासोका साथ पढिन्छन् । नेपालमा गाडी बिक्रेताहरुले पनि फरक फरक संदेश आफ्ना ग्राहकलाई दिइरहेको पाइन्छ ।

केही कम्पनीले जहाँ चार्ज गरेपनि १०० प्रतिशत बनाउन सुझाव दिन्छन् । केही कम्पनीले फस्ट चार्जरको प्रयोग सकभर नगर्न सुझाव दिइरहेको पाइन्छ । कोही भन्छन् फुल चार्ज गर्नु हुँदैन, कसैले फुल चार्ज गर्नै पर्छ नत्र ब्याट्रीको चार्जिङ साइकल खेर जान्छ भनेको सुनिन्छ ।

यसै सन्दर्भमा युटुवर इन्जिनियर जेसन फेन्सकेले डाक्टर जेफ डनको रिसर्च रिपोर्टका आधारित रहेर एक भिडियो पोस्ट गर्दै विभिन्न समयमा लिथियम आयोन ब्याट्री भित्र हुने केमिकल रियाक्सनको चर्चा गरेका छन् ।

जेसनले भिडियोमा ब्याट्री चार्ज र डिस्चार्जको समयमा हुने डिटेल सेयर गरेकोमा ब्याट्रीको लाइफ बढाउन गर्न नहुने ३ वटा कुरा मुख्य रुपमा बताएका छन् ।

१. फुल चार्ज गरेर हाइटेम्प्रेचरमा नराख्ने

इलेक्ट्रीक भेहिकललाई शतप्रतिशत चार्ज गरेर धेरै तातो तापक्रममा लामो समय स्टोर नगर्दा राम्रो हुन्छ । उनको अध्ययन अनुसार शतप्रतिशत चार्ज गरेको ब्याट्रीलाई ५० डिग्री सेन्ट्रीग्रेट तापक्रम भएको स्थानमा स्टोर गर्ने हो भने २०० दिनमै ४० प्रतिशत क्यापासिटी घटेको थियो । तर, ३० डिग्री तातोमा ४०० दिन राख्दा भने जम्मा १५ प्रतिशत मात्र क्यापासिटी घटेको थियो ।

Toyota suzuki

लामो समय उच्च तापक्रममा ईभी पार्क गर्नुछ भने ३० प्रतिशतभन्दा कम चार्जमा मात्र राख्नु उपयुक्त हुन्छ । तर, चिसो मौसममा फुल चार्जनै गरेर राखेपनि समस्या देखिएन । त्यस कारण तापक्रम र भोल्टेज ब्याट्री डिग्रेडेसनका कारक तत्व हुन् भन्न सकिन्छ ।

२. ब्याट्री पुरै सकिने नदिने

ईभीको ब्याट्रीलाई २० प्रतिशत चार्ज बाँकी भएपछि रिचार्ज गर्नु पर्ने मान्यता रहेको छ । तर, उनको रिसर्च अनुसार ब्याट्री रिचार्ज गर्न २० प्रतिशत कुरिरहनु पर्ने छैन ।

हाम्रो कारलाई फुल चार्ज गरेर गाडी चलाएर फर्किएपछि २० वा ३० प्रतिशत मात्र ब्याट्री प्रयोग भएको छ भने पनि रिचार्ज गरिहाल्नु राम्रो हो । ईभीको चार्जलाई शून्य बनाएर १०० दिनसम्म १०० प्रतिशत चार्ज गरिरहँदा ५० प्रतिशत डिग्रेडेसन भएको थियो ।

अर्को प्रयोगमा ईभीको ब्याट्रीलाई ४० बाट ६० प्रतिशत ४०० दिनसम्म निरन्तर रिचार्ज गर्दा जम्मा १५ प्रतिशत मात्र डिग्रेडेसन भएको थियो । यसका आधारमा ईभीलाई पुरै डिस्चार्ज गरेर चार्ज गर्नुभन्दा ५० प्रतिशतमै चार्ज गर्ने अनि फुल चार्ज नगरी ७५ वा ८० प्रतिशतसम्म मात्र रिचार्ज गर्दा ब्याट्री लाइफ बढाउन सकिन्छ ।

३. सधै १०० प्रतिशत चार्ज नगर्ने

उनको रिसर्च अनुसार ईभीको ब्याट्रीमा इनर्जी डेन्सीटी बढाउने निकेलको धेरै प्रयोग भएको हुनाले ७५ प्रतिशत मात्र चार्ज गर्नु राम्रो हुन्छ । यस्तो व्याट्रीलाई ८० प्रतिशतभन्दा माथि चार्ज गर्दा केही मात्रामा अक्सिजन रिलिज हुने भएकोले ब्याट्रीको लाइफ डिग्रेड गराउँछ । लामो यात्रामा जानु छ र फुल चार्ज गर्नैछ भने केही छैन ।

कहिले काहिँ फुल चार्ज गरिहाल्दैमा ठूलो हानी हुँदैन । अर्को कुरा फास्ट चार्जरमा सधै चार्ज गर्दा के हुन्छ भन्ने जिज्ञासामा ईभीमा रहेको ब्याट्री मेनेजमेन्ट सिस्टमले ब्याट्री धान्नेभन्दा बढि रेटमा चार्ज गर्नै नदिने भएकोले जति ठूलो फास्ट चार्जरमा चार्ज गरेता पनि केही फरक पर्दैन ।

जेसनका अनुसार माथि उल्लेखित कार्य गरेमा हाम्रो ईभीमा रहेको हाइ भोल्टेज ब्याट्रीको क्यापासिटी दशौं वर्षमा पनि खासै डिग्रेड हुनेछैन ।


Back_to_top