काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन-चैत)मा झण्डै ८ हजार विद्युतीय कार (प्यासेन्जर ईभी) नेपाल भित्रिएका छन् ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका हुन् ।
कुल १८ अर्ब ६२ करोड २३ लाख रुपैयाँमा उक्त संख्यामा विद्युतीय कार आयात भएका हुन् । उक्त कार आयात बापत सरकारले ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवमा ५० किलोवाट मोटर भएका २ हजार ७८३ युनिट, ५१ देखि १०० किलोवाटका ४ हजार ४१४ युनिट, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७४२ युनिट, २०१ देखि ३०० किलोवाटका १७ युनिट र ३०० किलोवाट माथिका २ युनिट ईभी कार आयात भएको विभागको तथ्यांक छ ।
त्यस्तै, ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ हजार ७३१ युनिट विद्युतीय माइक्रोबस आयात भएका छन् । जसमा ११ देखि १४ सिट क्षमताका ९४७ युनिट र १५ देखि २५ सिट क्षमताका ७८४ युनिट रहेको छ ।
कुन देशबाट कति आयात ?
विद्युतीय कार आयातमा चिनियाँको वर्चश्व रहेको छ । विभागका अनुसार कुल आयातको ७४.०८ प्रतिशत ईभी चीनबाट आयात भएको हो ।
चीनबाट सबैभन्दा धेरै ५ हजार ९०२ युनिट विद्युतीय कार आयत भएको छ । चीनबाट १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ बढीको ईभी कार आयात भएको छ ।
त्यसैगरी, भारतबाट ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बढीको २ हजार २३ युनिट आयात भएको छ । कुल ईभी कार आयातमा भारतको हिस्सा २५.३९ प्रतिशत रहेको छ ।
अन्य देशबाट भने ईभी कार आयात नगन्य रहेको छ । जर्मनीबाट ३१ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरिया र इन्डोनेसियाबाट ३/३ वटा विद्युतीय कार आयात भएको विभागको तथ्यांक छ ।

