काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै विद्युतीय सवारीसाधन विशेषत कार पहिलेकै भन्सार र अन्तःशुल्कमा दिन नसकिने बताएका छन् । आर्थिक विधेयक माथिको छलफलमा थप कुरा हुने भन्दै यसमा अवश्यकता अनुसार परिमार्जन हुन सक्ने उनले बताए ।
डा. खतिवडाले अन्य मुलुकमा लाग्दै आएको करको विषय उठान गर्दै इलेक्ट्रीक गाडीमा १०० प्रतिशतसम्म कर अन्यत्र पनि लाग्ने गरेको र नेपालमा पनि पहिलेको जस्तै १० प्रतिशत भन्सारमा दिन सक्ने अवस्था नरहेको प्रस्ट पारेका छन् ।
‘नाकामा समस्या आएको बेला सरकारले बोल्ड निर्णय गरेर इलेक्ट्रीक कारमा १० प्रतिशत भन्सार र सून्य प्रतिशत अन्तःशुल्क लगाएको हो । अहिले पनि त्यहि व्यवस्था हुनु पर्छ भन्ने कुरा अतियुक्ति हुँदैन’, मन्त्री खतिवडाले भने ।
विद्युतीय सवारीसाधन प्रहोत्साहन गर्ने विषयमा सरकार गम्भिर छ । यस्ता सवारीसाधनमा सार्वजनिक यातायात पहिलो प्राथमिकता रहेको मन्त्री खतिवडाले दाबी गरे ।
विद्युतको खपत गाडीले मात्रै गरेर समृद्धि नआउने भन्दै खतिवडाले भने ‘उत्पादन लगायतका अन्य क्षेत्रमा विद्युत खपत भएमात्रै समृद्धिको सपना पुरा हुन्छ ।’
उनले संसदमा विद्युतीय सवारीको विषयमा उठेका कुरा सैद्धान्तिक रुपमा ठिक होलान् तर, कति सरल मूल्यमा यस्ता गाडी दिने भन्ने विषयमा हामीले ध्यान दिनु पर्ने बताए ।


