काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत ईभीमा लाग्दै आएको करमा वृद्धि गरेपछि ईभीको मूल्य कति बढ्छ भन्ने विषयमा सर्वत्र चासो भइरहेको छ । यस्तोमा आयातकर्ताहरुले के तयारी गर्दैछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार झण्डै १३ प्रतिशत जतीको मूल्यमा असर पर्नेछ । अहिले बुकिङ गरेर बसेका ग्राहकलाई गाडी हस्तान्त्रणपछि उत्पादकले सपोर्ट नगरेको खण्डमा मूल्य बढ्ने उनको भनाइ छ ।
‘हामी करमा स्थायित्व आवोस् भन्ने चाहन्थ्यौं । सरकारले १३ प्रतिशत हाराहारी कर बढाएको छ । अब के हुन्छ छलफल गर्छौ’, श्रेष्ठले भनिन् ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा पनि ८ देखि १० प्रतिशतसम्म मूल्य बढ्न सक्ने बताउँछन् ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेल प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठ पनि औषतमा एउटा विद्युतीय गाडीमा ३ देखि ४ लाखसम्मको असर पर्ने अनुमान गर्छन् ।
‘अहिल्यै भन्न कठिन हुन्छ । धेरै गाडी आयात भएका छन् । केही दिनपछि मात्रै सबै कम्पनीले आफ्नो योजना बनाउँछन् होला’, श्रेष्ठले भने ।
ओमोडाको लागि नेपालको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलका कार्यकारी निर्देशक गौरब सारडाका अनुसार गाडीको मूल्य बढ्छ । तर, उत्पादकसँग मूल्य घटाउन भने कम्पनीहरुले प्रयास गर्ने छन् ।
एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्स स्रोतका अनुसार कर बढेको असर मूल्यमा आउने छ । ‘अहिल्यै ठ्याक्कै कति असर आउँछ भन्न सकिदैन । तर, उत्पादकले सहयोग नगरेको खण्डमा मूल्य बढाउनुको विकल्प रहँदैन’, कम्पनी स्रोतले भन्यो ।
भारत र चीनबाट हुने आयातमा सरकारले दिदै आएको भन्सारमा छुट पनि हटाएको कारण मूल्यमा केही असर पर्ने ब्यवासायीहरुको भनाइ छ । जे होस् विद्युतीय कारमा मूल्य बढ्छ वा बढ्दैन भन्ने कुरा उत्पादकमा भर पर्ने कुरामा दुईमत छैन ।


