कोरलाबाट दुई सातामै भित्रिए ७९१ ईभी, अझै आउने क्रम जारी

फाइल तस्बिर

काठमाडौं । तातोपानी र रसुवागढीको विल्पकमा संचालनमा आएको कोरल नाकाबाट दुई सातामै करिब ८०० युनिट विद्युतीय कार (ईभी) आयात भएको छ ।

गत भदौ ३० गतेदेखि संचालनमा आएको नाकाबाट हालसम्म ७९१ ईभी भित्रिएका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी संचालनमा ल्याइएको थियो ।

मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले शनिबारसम्म ७९१ युनिट ईभी भन्सार यार्डमा आइपुगेको जानकारी दिए । उनका अनुसार तीमध्ये ७६९ युनिट ईभीको भन्सार जाँचपास सम्पन्न भई गन्तव्यतर्फ गइसकेका छन् । बाँकी २२ युनिटको पनि जाँचपास प्रक्रिया अघि बढेको उनले बताए ।

कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीमोटर बी १० लगायत ईभी आयात भएका हुन् ।

‘भदौ ३० देखि न्हेचुङ भन्सार कार्यालय संचालनमा आएसँगै चीनबाट धमाधम सामान आइरहेको छ । दुई सातामै ७६९ युनिट ईभी र २४६ कन्टेनर जाँचपास भइसकेको छ,’ उनले भने ।

त्यस्तै, दुई साताको अवधिमा चीनबाट भित्रिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा कन्टेनरको भन्सार जाँचपास सम्पन्न गरिसकिएको उनले जानकारी दिए । भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।

ठूलो परिमाणमा ईभी र मालवस्तु आयात हुँदा उल्लेख्य मात्रमा राजस्व संकलन भएको छ । दुई सातामै १ अर्ब ३७ करोड ७० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।

कोरलाबाट सामान आयात मात्र होइन निर्यात पनि सुरू भएको छ । यस अधिमा ५ कन्टेनर सामान चीनतर्फ निकासी भएका छन्। नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको उनले बताए ।

अहिले पनि चीनबाट सामान आउने क्रम जारी रहेकाले दशैंको टीकाको दिनबाहेक अरु सबै समय भन्सार कार्यालय खुला रहने जनाइएको छ ।

चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ । उनले लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको बताए ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी २ महिनादेखि बन्द हुँदा व्यवसायीले विकल्पमा पहिलोपटक कोरलाबाट ईभी र सामान आयात गर्न थालेका हुुन् । तातोपानी र रसुवागढीको तुलनामा कोरलाबाट सामान ल्याउन समय र ढुवानी लागत बढी लाग्छ । तर, पानीजहाजबाट भारत हुँदै ल्याउँदाभन्दा कम लाग्ने भएकाले व्यवसायीले कोरलाबाटै ल्याउन थालेका हुन् ।


Back_to_top