काठमाडौं । विद्युतीय स्कुटर होस् कि कारको शोरुम लन्चिङ, कुलमान घिसिङ बोलाएको ठाँउमा आफूले भ्याएसम्म आउने बताउँथे । विद्युतीय साधन लन्चिङमा उनले राख्ने कुरा भनेको बिजुलीको प्रयोग बढाउनु पर्छ । त्यसको लागि ईभीहरू मुख्य औजार हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा दोस्रो कार्यकालमा ४४ महिना बिताएपछि बर्खास्तमा परेका घिसिङको सपोर्टमा सडक, सदन र सोसल मिडियामा खुल्नेहरू बढिरहेका छन् । पहिलो कार्यकालमा चलिरहेको १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका उनको आवश्यकता अझै रहेको बताउने ठूलो जमात भेटिन्छ ।
कुलमान हट्ना साथ लोडसेडिङ सुरू भयो भने के हुन्छ भन्ने चिन्ता गाडीधनीहरूमा पाइएको थियो ।
उनको सक्रियतामा एशियाली विकास बैंक र नर्वेजियन दूतावासको सहायतामा ६२ स्थानमा डीसी चार्जर बने । त्यो नै नेपालको विद्युतीय सवारीसाधनको लागि सबैभन्दा ठूलो लाइफ लाइन बन्यो । त्यसैले हरेक ईभी व्यापार गर्ने व्यवसायीको नजरमा कुलमान परे । उनलाई बोलाएर आफ्नो गाडी देखाउन होस् वा शोरुमको रिबन कटाउने होड नै चल्यो । उनै ईभीका नायक कुलमानलाई सरकारले कार्यकाल सकिनु ४ महिना अगाडि बर्खास्त गर्यो ।
समाजिक संजालमा ईभी किन्नेदेखि ईभी लिने सोच बनाएकाहरूले लोडसेडिङ हुने चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूको एउटै भनाइ छ, लोडसेडिङ भए कसरी गाडी चार्ज गर्ने ? तर, नयाँ नेतृत्वको रूपमा आएका हितेन्द्रदेव शाक्यले लोडसेडिङ नहुने प्रष्ट पारिसकेका छन् । साथै, भारतले पनि थप विद्युत दिने सम्झौता नवीकरण गरेर उल्टै उद्योगमा हुँदै आएको ८ घण्टा लामो लोडसेडिङ समेत अन्त्य हुने अवस्था बनेको छ ।
कुलमान फ्याक्टरको त्रास कम हुँदै
कुलमानले चरम लोडसेडिङमा रहेका नागरिकको घरघरमा उज्यालो पुर्याउन मुख्य भूमिका निर्वाह गरेकै हुन् । उता, उद्योगले बिजुली पाउँदा पनि नागरिकको घरमा बत्ती नबल्ने अवस्थाको अन्त्य गर्दै लोडसेडिङ मुक्त नेपाल घोषणा गरेका कुलमान घिसिङको बर्खास्तीसँगै फेरि लोडसेडिङ हुन्छ र गराउँछन् भन्ने चिन्ता हुनु स्वभाविक पनि हो ।
बजारमा करिब २३ हजार विद्युतीय कार र झण्डै ४ हजार माइक्रो बसको लागि विद्युत चाहिने अवस्था छ । यस्तोमा कुलमान हट्ना साथ लोडसेडिङ सुरू भयो भने के हुन्छ भन्ने चिन्ता गाडीधनीहरूमा पाइएको थियो । त्यसैले त धेरै उपभोक्ताले सामाजिक संजालमा गाडी कसरी चार्ज गर्ने होला भन्ने चिन्ता व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको रूपमा केपी ओलीको अहंकारीपन र ऊर्जामन्त्रीको स्टनबाजीका बीच भएको कुलमानको बर्खास्तीलाई छिट्टै भारतको सहयोगमा हितेन्द्रदेव शाक्यले छोप्ने काम गरेका छन् । आशा गरौं व्यक्तिवादी चरित्रबाट हामी र विद्युत प्राधिकरण संस्थागत बाटोलाई जोड दिने अवस्थामा पुग्न सकौं । कुनै पनि संस्था व्यक्तिको भरमा होइन, संस्थागत रूपमा चल्न सक्नुपर्छ ।
विगत दुई वर्षदेखि कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको दराजमा थन्काएर राखेको पीपीए गर्नुपर्ने योजना नयाँ एमडीले खुला गर्ने घोषणा गरेका छन् । यसले नयाँ ४८०० मेगावाट आयोजना निर्माण प्रक्रिया अघि बढ्ने छ । र, भारतबाट विद्युत किन्नु पर्ने अवस्था पनि चाँडै अन्त्य हुने अनुमान गर्न सकिन्छ ।

