पहिले ईभी किन्ने पछुताउँदै, नयाँलाई फाइदै-फाइदा

काठमाडौं । नेपालमा इलेक्ट्रीक भेहिकलको हल्का प्रयोगसुरु हुने बित्तिकै ईभी किनेका चावहिलका नरेश पोखरेल अहिले पछुताएका छन् । उक्त समयमा नेपालको हटकेक मोडल किन्न उनले लामै समय कुरे र बल्बल्ल लिए ।

गाडी डेलिभरी पाउँदाको क्षण सम्झदै उनि भन्छन्, ‘२० वर्ष अघि मोवाइलको सिमकार्ड हात पर्दा ठूलो युद्ध जितेजस्तो हुन्थ्यो । पछि इलेक्ट्रीक कार डेलिभरी पाउँदा त्यस्तै भएको थियो ।’

सन् २०२० मा उनले एमजी जेडएस किनेका थिए । उनिसँग त्यतिवेला हुन्डाई कोना र बीवाइडी ई६ मात्रै जेडएस ईभीको अप्सनमा थियो । उनको रोजाई हल्का अफरोडमा पनि चलाउन सकिने र डिजाइनका हिसावले पनि उत्कृष्ट जेडएस ईभी नै थियो ।

अब समयले कोल्टे फेरेको छ । बजारमा २० भन्दा धेरै ईभी ब्राण्डका तीन दर्जन बढी मोडल बजारमा किन्न पाइन्छ । यसरी धेरै ब्राण्ड आउनुमा ईभीको बिक्री तिब्र गतिमा बढ्नु मुख्य कारण हो । अहिले झण्डै ७० प्रतिशत हाराहारी ईभीको बजार हिस्सा पुगेको छ । नरेस जस्तै अहिले ईभी किन्न खोज्नेलाई धेरै छनोट उपलब्ध छ । त्यसैले त पहिले किन्ने पछुताउनु पर्ने अवस्था आएको छ भने नयाँले धेरै फिचर भएका कार पाएका छन् ।

चिनियाँ ईभीको बजार विस्तार भएसँगै पछिल्ला मोडलहरुमा ब्याट्रीको साइज बढ्ने र फिचर पनि थपिदै आएका छन् । तर, मूल्य भने घट्दो क्रममा छ । त्यसको उदाहरण एमजी जेडएस ईभी, सेरेस थ्री र बीवाइडी एटो थ्री जस्ता मोडल छन् ।

बीवाइडीले एटो थ्री अपग्रेड गरेर नेपाल ल्यायो । त्यसमा टायर साइज ठूलो, स्कृन साइज ठूलोसँगै कनेक्ट एप पनि दियो मूल्य बढेन । उता एमजी र सेरेसले आफ्नो एसयूभीमा मूल्य नै घटाएर दिए । यसअघि एमजी र सेरेस किन्ने नरेस जस्ता ग्राहकको रिसेल भ्यालू नै छैन ।

नेपालमा मूल्य घटाउने अर्को ईभी विलिङ पनि हो । सुरुवातमा विलिङको मिनी कार एयर ईभीको मूल्य २४ लाख ९९ र ३० लाख ९९ हजार थियो । तर, पछि विलिङको एयर ईभी जस्तै हुबहु मोडल एमजीको व्याजमा कोमेटको नामले लन्च भएपछि यसको मूल्य घटेको थियो ।

कोमेट आएपछि विलिङ सट रेन्जमा ३ लाख र लङ रेन्जमा ५ लाख रुपैयाँ घटेको थियो । विलिङकै अर्को मोडल विङगो सुरुमा ३१ लाख ९९ हजार मूल्य तोकिएकोमा अहिले यसको मूल्यमा २ लाख नगद छुट अफर चलेको छ ।

भारतमा पनि उस्तै

टाटा मोटर्सले उत्पादन गरको पहिलो इलेक्ट्रिक मोडल टाटा नेक्सन ईभीमा धेरै अपग्रेड भइसकेको छ । सुरुवातमा ३०.२ किलोवाटको ब्याट्रीप्याक दिएको नेक्सन अहिले ४५ किलोवाट आवरको ब्याट्रीमा आउन थालेको छ ।

सुरुवातमा सामान्य फिचरमा उपलब्ध नेक्सन अहिले नयाँ डिजाइनसहित १०.२५ इन्चको इन्फोटेन्मेन्ट र इन्ट्रुमेन्ट क्लस्टर स्कृन, ३६० डिग्री क्यामरा, पानारोमिक सनरुफ, कनेक्टेड टेललाइट जस्ता फिचर थप्दै लगेको छ ।

कम्पनीले तीन दिनअघि मात्रै सार्वजनिक गरेको ४५ किलोवाटको ब्याट्री भर्सन नेक्सन ईभीको मूल्यसमेत ६० हजार रुपैयाँले घटाएको छ ।

किन घट्यो ईभीको मूल्य ?

चिनियाँ ईभीको मूल्य निरन्तर घट्नुको कारण प्राइस वार हो । केही दिनअघि मात्रै सार्वजनिक भएको चिनियाँ अटोमोवाइल उत्पादक संघको रिपोर्ट अनुसार यस वर्षको ८ महिनामा मात्रै अटो उद्योगले २० अर्ब डलर गुमाएको जनाएको छ ।

लिथियमको मूल्यमा व्यापक कटौती भएसँगै ब्याट्रीको साइज बढाउने र मूल्य घटाउने चक्र सुरु भएको हो । ठूलो परिमाणमा ब्याट्रीको उत्पादन र प्रयोग बढेसँगै टेक्नोलोजी कस्ट कम भएकाले गाडी उत्पादक बीवाइडी, एसएआईसी, जीएसी जस्ता ब्राण्डले ईभीको मूल्य कटौती गरेका हुन् ।

अझ चीन बाहेकका अन्य देशका उत्पादकले चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न मूल्य घटाउनै पर्ने अवस्था भोग्नु परिरहेको छ । यसले मूल्य घटाउने खेल अझै लामो जाने निश्चित जस्तैछ ।


Back_to_top