काठमाडौं । चिनियाँ ब्राण्ड डोङफेङ नामीको पहिलो कार ‘नामी-बक्स’ २९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेपालमा बिक्री सुरू भएको छ । यसको तीन भेरियन्ट नेपालमा उपलब्ध छ ।
ई-१ को मूल्य २९ लाख ९९ हजार, ई-२ को मूल्य ३२ लाख ९९ हजार र ई-३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू भएको हो ।
अहिले पनि नामीमा भएको फिचर पाउन पेट्रोल कारमा ६० लाखभन्दा माथि तिर्नु पर्ने हुन्छ । त्यति रकम तिर्दा पनि नामीमा भएका फिचर पाउन कठिन हुन्छ । त्यसको मुख्य कारण भने नेपाल सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारमा लगाएको कर हो ।
एमएडब्ल्यू वृद्धिले नेपाल ल्याएको नामी ह्याचब्याक कार आफ्नो लुक्स, फिचर, मूल्य र रेन्जको कारण पनि चर्चामा रहेको मोडल हो । यसलाई हामीले टेष्ट ड्राइभ गरेका छौं । हाम्रो टेष्ट ड्राइभको आधारमा नामीलाई मूल्य अनुसारको ‘नेक्स्ट लेभल’ लग्जरी मान्न सकिन्छ ।
एक्सटेरियर
चार मिटर लामो नामी ‘टल ह्याच’ मोडल हो । यसको पछाडिको भाग एसयूभी सो–सरह अग्लो छ । बडीको साइड प्यानल पनि निकै स्टाइलिस र मोर्डन बनाउन भरपुर कोसिस गरेको देखिन्छ ।

एलईडी डीआरएल सहितको प्रोजेक्टर हेडल्याम्प, क्लोजअफ ग्रिल, तल्लो भागमा दिइएको एयर ड्याम लगायतका फिचर निकै आकर्षक छन् । साथमा दिइएको १७ इन्चको ह्वील, फ्रेमलेस डोर र फ्लस डोर ह्याण्डल यसको अर्को बलियो पक्ष हो । यी फिचर ३५ लाख मूल्यका अन्य कारमा अहिलेसम्म उपलब्ध छैन ।
इन्टेरियर
नामीको अर्को बलियो पक्ष इन्टेरियर हो भन्न हिचकिचाउनु पर्दैन । गाडीको ढोका खोल्नासाथ मेमोरी सहितको सिटले नै तपाईंलाई स्वागत गर्छ । आफैँ सर्छ र बस्न सजिलो बनाउँछ ।

लेदर सिट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र टु स्पोक स्टेरिङ ह्वीलको कम्बिनेशन उत्कृष्ट छ । ड्युल कलर ड्यासबोर्ड, ३२ कलरको एम्बियन्ट लाइट र सेन्टर कन्सोलको बनोटले नामीको क्याबिन उत्कृष्ट फिल दिन सक्षम छ ।
आधुनिक फिचर
आधुनिक फिचरमा गनिने एडास २.० फिचर तपाईंले यसमा पाउनु हुन्छ । साथै, ३६० डिग्री क्यामेरा, अटो होल्ड लगयातका फिचरले चालकलाई निकै सहज बनाएको छ । यसलाई तपाईं नर्मल, ईको र स्पोर्टस् मोडमा चलाउन सक्नु हुन्छ ।

चिनियाँ एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको नामीमा दुई एयरब्याग दिइएको छ । यसमा दिइएको भेहिकल स्टेबिलिटी एसिस्टेन्ससँग ईबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेबलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल लगायत फिचरले गाडी सुरक्षीत छ ।
मोटर र पावर
एमएडब्ल्यू वृद्धिका अनुसार नामी ई-वान र ई-टुलाई सानो ३१.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराएको छ । तर, टप भेरियन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री छ ।
सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ । ठूलो ब्याट्रीले सिंगल चार्जमा ३१७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा ७० किलोवाटको मोटर पाउन सकिन्छ ।

हामीले टेष्ट ड्राइभको क्रममा झण्डै ३०० किलोमिटरको रेन्ज पाएका थियौं ।
अन्त्यमा, नामी भ्यालू फर मनी कार त हुँदै हो, कम मूल्यमा धेरै फिचर पाउन सुकिने कार हो । अहिलेको टेष्ट ड्राइभकै भरमा यसको पर्फमेन्स एकीन गर्न नसकिए पनि कारमा उपलब्ध फिचर र मूल्यलाई मिलाएर हेर्दा यो कारमा खोजेभन्दा धेरै फिचर छन् ।

