काठमाडौं । कुनै पनि गाडी दुई वा दुईभन्दा धेरै भेरियन्टमा ल्याउने चलन गाडी उत्पादकहरूकै हो । चाहे त्यो पेट्रोल कार होस् वा विद्युतीय कार मोडलमा भेरियन्ट त पाइन्छ नै । एकाध ईभीहरू एउटा मात्रै भेरियन्टमा पनि उपलब्ध छन् ।
अहिले नेपाली बजारमा धेरै बिक्री हुने र चर्चा कमाउन सफल मोडलहरू पनि दुई वा त्योभन्दा धेरै भेरियन्टमा उपलब्ध छन् । जसमा बीवाइडी एटो-३, एमजी जेडएस ईभी, सेरेस थ्री, ओमोडा ई-५, नेटा एक्स जस्ता विद्युतीय एसयूभी दुई वा सोेभन्दा बढी भेरियन्टमा उपलब्ध छन् ।
सरकारले लगाएको करकै कारण यी मोडलका दुई भेरियन्टमा मूल्य अन्तर पर्यो भन्न सकिँदैन । किनभने कम्पनीहरूले दुवै भेरियन्टलाई एउटै मोटर पावरमा उपलब्ध गराएका छन् । त्यसैले भेरियन्ट अनुसार कर धेरै वा थोरै लाग्ने कुरै भएन ।
यी सबै मोडलमा मुख्य फरक भनेको ब्याट्री क्षमता वा केही कम फिचर हो । तर, त्यतिले मात्रै दुई भेरियन्टमा ठूलो अन्तर पर्छ होला त ? भन्ने चासो र जिज्ञासा धेरैले राख्दै आएका छन् । नत्र भन्सार शुल्क, अन्तःशुल्क, सडक निर्माण दस्तुर र मूल्य अभिवृद्धि कर एउटै लाग्ने गाडीको बिक्री मूल्यमा किन ठूलो अन्तर पर्छ ।
यहाँ पहिलो कुरा गरौं बीवाइडी एटो-३ को । साइमेक्स इंक प्रालिले एड्भान्स र सुपेरियर भेरियन्टमा एटो-३ उपलब्ध गराएको छ । यी दुई भेरियन्टको बीचमा १० लाख ९० हजार रुपैयाँ मूल्यमा अन्तर छ । एटो-३ एड्भान्स ५६ लाख ९० हजार र सुपेरियर ६७ लाख ८० हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । एटो-३ मा भएको मुख्य फरक १० किलोवाट आवर ब्याट्री, एक इन्च सानो ह्वील, २ वटा कम स्पीकर, पावर टेलगेट हो ।

त्यस्तै अर्को कम्पनी नेटाको आयातकर्ता सीजी मोटर्सले नेटा एक्स कम्फर्ट र लग्जरी भेरियन्ट उपलब्ध गराएको छ । यी दुई भेरियन्ट बीच ९ लाख रुपैयाँ फरक छ । यसमा पनि १० किलोवाट आवर ब्याट्री साइजमा फरक छ । त्यस बाहेक पावर टेलगेट लगायतका फिचरमा फरक पाउन सकिन्छ ।
नेपाल आएको छोटो समयमा सफलताको स्वाद चाखेको अर्को चर्चित ईभी ओमोडा ई ५ को भने ब्याट्री र मोटर पावर समान छ । केही फिचर मात्रै हटाएर ल्याएको डिलक्स भेरियन्ट र लग्जरी भेरियन्टमा ६ लाख रुपैयाँको फरक छ । ओमोडा डिलक्सको ५५ लाख ९९ हजार रुपैयाँ मूल्य रहेकोमा लग्जरीको ६ लाखले बढी ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एमजी-फोर ह्याचव्याक कार पनि दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यी दुई भेरियन्टको मूल्यमा पनि ठूलो अन्तर पाउन सकिन्छ । एमजी-फोर सर्ट रेन्ज मोडलको मूल्य ४१ लाख ४९ हजार छ भने लङ रेन्ज मोडलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ । दुई मोडलमा ८ लाख ५० हजारको फरक पाउन सकिन्छ ।
एमजी जेडएस ईभीको कम्फर्ट र डिलक्समा तथा सेरेस थ्रीको कम्र्फट र प्रिमियममा पनि ५ लाख रुपैयाँको अन्तर राखेर मूल्य तोकिएको छ ।
माथि उल्लेख भएका भेरियन्टमा ५ देखि १० लाख रुपैयाँसम्म मूल्य फरक पर्नुको मुख्य कारण फिचरहरू नै हुन् । नाफा धेरै राख्न कम्पनीहरूले ठूलै फरक बनाएर मूल्य राखेको भन्ने पनि छन् । जेहोस्, मूल्यमा ठूलै अन्तर भए पनि कम रकम जोहो गर्नेले पनि उस्तै गाडी उपभोग गर्न भने पाएका छन् ।

