काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय कारको मूल्य निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो एक वर्षमा नै ३ देखि ५ हजार डलरले विद्युतीय कारको मूल्यमा गिरावट आएपनि बजारमा मूल्यभने घट्न सकेको छैन ।
अहिले बजारमा आक्रमक ईभी बिक्री गर्दै आएका सबै कम्पनीको मूल्यमा निरन्तर ओरालो लागेपनि यहाँ कुनै पनि ब्राण्डले मूल्य घटाएका छैनन् । त्यसले सोशल मिडियादेखि सार्वजनिक कार्यक्रममा समेत ब्यवसायीहरुको आलोचना हुँदै आएको छ ।
केही दिन अघिसम्म अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. प्रकाशशरण महतले सार्वजनिक कार्यक्रमबाटै सरकारबाट कर सुविधा पाएका साधनमा ठूलो मार्जिन राखेर गाडी बिक्री गरेकोभन्दै ब्यवसायीहरुको आलोचना गरेका थिए । उनले अटोमोवाइल ब्यवसायीहरु कै कार्यक्रममा गएर नाफा घटाउन भनेको तीन महिना मात्रै भएको छ ।
विश्वब्यापी रुपमा ईभीको माग बढ्नु, उत्पादन क्षमता बिस्तार हुनु, ब्याट्री उत्पादक बीच मूल्य कटौतीमा प्रतिस्पर्धा हुनु र कार उत्पादकहरु पनि ‘प्राइस वार’मा लाग्नु जस्ता कारण विश्वभर विद्युतीय कारको मूल्य निरन्तर ओरालो लागिरहेको छ । तर, नेपालमा एक पटक निर्धारण गरेको मूल्यमा घटाउने नाम कुनै बिक्रेताले लिएको पाइदैन ।
अहिलेको समयमा हरेक डकुमेन्टहरु उपभोक्ताको पहुँचमा पुग्नु पर्छ । पारदर्शी ब्यापार ब्यवसायको सबैले समर्थन गर्छन् । तर, सरकारको प्राथमिकता रहेको र अनुदान समेत दिदै आएको क्षेत्रमा नै उच्च नाफा खोज्नु ब्यवसायीक धर्ममा नपर्ने ब्यवसायीहरु नै बताउँछन् ।
‘नाफा धेरै भयो । त्यसलाई घटाउ भनेर पूर्व अर्थमन्त्रीले मन्चबाटै भन्दै आएका हुन् । विश्व बजारमा हरेक तीन महिनामा मूल्य कटौती चलिरहेको छ । नेपालमा आउँदा पनि गाडीको मूल्य ३ हजार डलरसम्मले कम भएका छन् । तर, उपभोक्तालाई बेच्ने मूल्य घटाउन कोहि तयार देखिदैनन् । यो उपभोक्ता माथिको अत्याचार हो‘, राष्ट्रिय उपभोक्ता हित मन्चका अध्यक्ष प्रेमलाल महर्जनले भने ।
चालु आर्थिक वर्षको बजेटबाट सरकारले चल्तीको सेग्मेन्टमा कर बढाएपनि कम्पनीहरुले मूल्य वृद्धि गर्नु नपरेको घटना देखाउँदै मूल्य घटिरहेको ब्यवसायीहरुको दावी छ ।