काठमाडौं । नयाँ वर्ष सुरु भएको दोस्रो दिन नै विद्युतीय कारमा प्राइस वार सुरु भएको छ । चिनियाँ बजारमा मूल्यको प्रतिस्पर्धा २०२५ मा तिब्र गतिमा बढ्ने अनुमान यसअघि नै गरिएको थियो ।
डिसेम्बरमै बीवाइडी र एमजीले आफ्ना भेन्डरहरुलाई मूल्यमा १५ प्रतिशत कटौती गर्न भनेको समाचारहरु बाहिर आएका थिए । तर, नयाँ वर्षको दोस्रो दिन नै विलिङले आफ्नो विङ्गो प्लस एसयूभीको मूल्य कटौती गरेको हो ।
कम्पनीले विङ्गो प्लस एसयूभीको मूल्य १२ हजार ३०० डलर तोकेको छ । यसअघि १३ हजार १०० डलर मूल्य रहेको गाडीलाई कम्पनीले ८०० डलरले मूल्य घटाएको हो ।
विलिङले मूल्य घटाएसँगै अन्य कम्पनीले पनि मूल्य घटाउने अनुमान गरिएको छ । घट्दो ब्याट्रीको मूल्य र बढ्दो बिक्रीसँगै कारको उत्पादन लागत कम हुनेछ । त्यसले अन्य ब्राण्डलाई पनि मूल्य घटाउन सहयोग गर्नेछ ।
विलिङले सन् २०२४ मार्चमा चीनबाट बिक्री सुरु गरेको विङ्गो प्लस एसयूभी चाँडै इन्डोनेशियामा उत्पादन थाल्दैछ । इन्डोनेशियामा बनेपछि भने विङ्गो प्लस नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।

