काठमाडौं । भारतमा इलेक्ट्रीक कारको तुलनामा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधनको बिक्री पनि धेरै छ । तिब्र प्रतिस्पर्धी बजारमा २०२४ मा कुल ११ लाख ४० हजार युनिट बिद्युतीय दुई पाङ्ग्रे बिक्री भएका छन् ।
ओला स्टार्ट अप कम्पनीले एक्लै ४ लाख युनिटभन्दा धेरै स्कुटर बिक्री गरेको छ । २०२४ को सुरुवात देखिनै मार्केट लिडर रहेको ओला वर्षको अन्तिम तिर आइपुग्दा पछाडि परेको छ । भारतका स्थापित कम्पनी बजाज र टीभीएसले पछिल्ला महिनाको बिक्रीमा उछिनेका हुन् ।
ओलालाई पहिलो पटक पछिपार्दै बजाज नम्बर वान कम्पनी बन्न सफल भएको हो । बजाज अटोले २०२४ डिसेम्बर महिनामा आफ्नो ग्रोथ तीन प्रतिशतले बढाएर २५ प्रतिशत पुर्याएको हो । कम्पनीले डिसेम्बर महिनामा १८ हजार २७६ यूनिट चेतक बिक्री गरेको थियो ।
यसअघि २३ प्रतिशत बजार हिस्सा लिएर दोस्रो स्थानमा रहेको टीभीएस अहिले पनि दोस्रो स्थानमै छ भने उसले १७ हजार २१२ यूनिट विद्युतीय स्कुटर बिक्री गरेको छ । पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको ओलाले १९ प्रतिशत बजार हिस्सा गुमाउँदै १३ हजार ७६९ यूनिट स्कुटर बिक्री गरेको छ ।
एथरले पहिलो पटक एक महिनामा १० हजार यूनिट बिक्री गर्दै १५ प्रतिशत बजार हिस्सा बनाउन सफल भएको छ । समग्र सन् २०२४ को बिक्री हेर्दा ओला अहिलेपनि पहिलो नम्बरमै रहेको छ । दोस्रोमा टीभीएस र तेस्रोमा बजाज छ ।
सन् २०२४ मा ओलाले ४ लाख युनिट स्कुटर, टीभीएसले २ लाख २० हजार युनिट र बजाजले १ लाख ९३ हजार युनिट स्कुटर बिक्री गरेका छन् । एथरले आफ्नो बजार हिस्सा बढाउँदै लाँदा हिरोको बजार हिस्सा १ प्रतिशतमा झरेको छ ।

