काठमाडौं । भारतमा उत्पादन भएका ईभीले नेपालमा कस्तो व्यापार गर्ला भन्ने चर्चा बढ्दै गएको छ । यसअघि टाटाले मात्रै भारतमा उत्पादन भएका ईभी ल्याएर ठूलो संख्यामा बिक्री गर्न सफल भएको थियो ।
टाटा बाहेक सिट्रोनले पनि इलेक्ट्रीक सीथ्री नेपालमा बिक्री गर्दै आएको छ । तर, सिट्रोनको बिक्री ठूलो परिमाणमा छैन । यसअघि भारतबाट आएका सबै विद्युतीय भेहिकल साना साइजमा उपलब्ध थिए । अब भने कम्प्याक्ट एसयूभी साइजमा टाटा, हुन्डाई महिन्द्रा र सुजुकीका उत्पादन बजारमा आउने भएका हुन् ।
भारतमा टाटाले कर्भ ईभी बिक्री सुरू गरेको केही महिना भएको छ । सम्भवतः माघ महिनादेखि नेपालमा पनि कर्भ ईभीको बिक्री सुरू हुँदैछ । टाटा कर्भसँग प्रतिस्पर्धामा वारपार भएर हुन्डाई क्रेटा ईभी, सुजुकी ईभिटारा र महिन्द्र बीई-६ नेपाल आउने छन् । क्रेटा ईभी माघ महिना मै नेपाल आउने छ भने अन्य मोडल क्रमिक रूपमा नेपाल आउने छन् ।
भारतमा उत्पादन भएका ईभीमा अन्य देशमा बनेका ब्याट्री प्रयोग गर्नुपर्ने भएको कारण भारतीय उत्पादनलाई चिनियाँ कारहरूसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने धेरैको अनुमान छ । अहिल्यै कुनै पनि ब्राण्डले ल्याउने मोडलको मूल्य घोषणा नभएको कारण प्रतिस्पर्धा कस्तो हुन्छ भन्न सकिँदैन । भारतमा उत्पादन हुने सबै मोडलमा रहेका ब्याट्री साइज, रेन्ज, चार्जर र स्पीडको विषयमा हामीले यहाँ चर्चा गर्न लागेका हौं ।

ब्याट्री साइजमा महिन्द्रा बीई-६ सबैभन्दा ठूलो देखिन्छ । बीई-६ मा ५९ र ७९ किलोवाट आवरको ब्याट्री रहेको छ । यी एसयूभी मध्ये सबैभन्दा सानो ब्याट्री हुन्डाई क्रेटामा छ । क्रेटामा ४२ र ५१.४ किलोवाट आवरको ब्याट्री छ ।
चार्जर सपोर्ट
एसी चार्जरको मामलामा हुन्डाई क्रेटा अब्बल देखिन्छ । सानो ४२ किलोवाट आवरको ब्याट्रीलाई ११ किलोवाट आवरको एसी चार्जरले १० देखि १०० प्रतिशत चार्ज गर्न केबल ४ घण्टा लाग्छ ।
महिन्द्रा बीई-६ को टप भेरियन्टले ११ किलोवाटको चार्जर सपोर्ट गरेपनि सानो ब्याट्रीले ७.२ किलोवाटको मात्रै चार्जर सपोर्ट गर्छ । कर्भ र ई भिटाराले पनि ७.२ किलोवाटको चार्जर नै सपोर्ट गर्छ ।
डीसी चार्जरमा भने सबैभन्दा ठूलो चार्जर महिन्द्रा बीई-६ ले १७५ किलोवाटको सपोर्ट गर्दा सबैभन्दा सानो ६० किलोवाटको चार्जर क्रेटा ईभीले सपोर्ट गर्छ । नेपालमा औषत ३० र ६० किलोवाटका डीसी चार्जर पाउन सकिन्छ ।
एक्सलेरेसन
विद्युतीय गाडीको एक्सलरेसन तीव्र नै हुन्छ । चाँडो स्पीडको मामलामा पनि महिन्द्रा बीई-६ अगाडि देखिन्छ । बीई-६ ले ६.७ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउँदा सबैभन्दा ढिलो टाटा कर्भ छ । कर्भ ईभीले ८.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्न सक्छ ।

