यात्री र हुलासले जगाएको आशाः सरकारी सहयाेगकाे पर्खाइमा इलेक्ट्रीक कार र मोटरसाइकल

काठमाडौं । नेपाली युवा इन्जिनियरको टीमले बनाएको मोटरसाइकल ‘यात्री पी-०’ले अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेको छ । यसको समाचार विश्वका धेरै अटोमोबाइलमा समाचार लेख्ने मिडियाले कभरेज गरेका छन् ।

अमेरिका, यूरोप र एसियाली बजारमा यात्रीले निकै राम्रो कभरेज पाएको छ । नेपाल सरकारले इलेक्ट्रीक सवारीसाधनलाई बढवा दिदै यसको उत्पादनमा केही सहजताको बाटो खोज्ने हो भने अबको केही वर्षमा यूवा इन्जिनियर असिम पाण्डेको नेतृत्वले इलेक्ट्रीक मोटरसाइकल उत्पादनमा केही सफलता पाउने देखिन्छ ।

यात्रीका अलावापनि नेपालमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी एसेम्बल गर्नको लागि करिब २ दर्जन कम्पनीहरु दर्ता भएका छन् भने केही कम्पनीले एसेम्बलको काम अगाडि बढाएका छन् ।

दक्षिण एसियाली बजारमा तुलनात्मक हिसावले नेपालका उपभोक्ताले चाँडो र सहजै इलेक्ट्रीक सवारीसाधनमा विश्वास गरेका छन् । त्यसमा पनि यसलाई उद्योगको रुपमा सरकारले विकास गर्दै नयाँ इनोभेशन, इन्भेष्टमेन्ट र रोजगारी सृजना गर्ने वातावरण बनाउन ढिला गर्नु हुँदैन ।

उसोत नेपालमा इलेक्ट्रीक कार बनाउने तयारी नभएको हैन । गोल्छा समूहले नेपालमा खोलेको पहिलो मोटर कम्पनी हुलास मोटर्सको फ्याट्रीबाट नयाँ इलेक्ट्रीक कार उत्पादनको प्रयास भइरहेको छ । कम्पनीले दशैंपछि आफ्नो पहिलो कारलाई परिक्षणको लागि काठमाडौं ल्याउने भनिएपनि केही प्राविधिक काम बाँकी रहेकाले अझै केही समय लाग्ने जनाएको छ ।

‘अहिले हामी कारमा देखिएका केही कमजोरी हटाउने काम गरिरहेका छौं । अबको केही दिनभित्र यसको काम सकिने छ । त्यसपछि स्थानिय ठाँउमा नै परिक्षण सकेर मात्र काठमाडौं ल्याउने छौं’, हुलास मोटर्सका जनरल मेनेजर प्रफुल्ल दासले मेरोअटोसँग भने ।

उनको भनाईलाई आधारमान्दा चालु आर्थिक वर्षभित्र नै कम्पनीले आफ्नो इलेक्ट्रीक कारको उत्पादन र बिक्री वितरण सुरु गर्नेछ । यसले हामी जस्तो तेस्रो मुलुकबाट सवारीसाधन ल्याएर बिक्री गर्नेहरुको लागि नयाँ संदेश प्रबाह हुनेछ ।

बजाजको मोटरसाइकल नेपालमा नै एसेम्बल गरेर बिक्री वितरण गर्दै आएको हुलास अटोक्राफ्टले बजाजको इलेक्ट्रीक स्कुटर चेतकपनि नेपाली बजारमा एसेम्बल सुरु गर्ने भएको छ । आज (जनवरी १४) बाट भारतीय बजारमा बिक्री सुरु भएको चेतक निकै स्टाइलिस मोडलको रुपमा चर्चामा छ । बजाजले यसलाई १ लाख भारतीय रुपैयाँ मूल्य राखेर बजारमा बिक्री सुरु गरेको छ ।

यी माथिका तीन घटनाले नेपालमा इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने विषयलाई जोड तोडले उठाएको छ भने त्यसको लाभ राज्य र उपभोक्ताले लिनसक्ने किसिमले सरकारले नीति बनाउन जरुरी छ ।

सरकारले चार्जिङ स्टेशन निर्माण गर्छु भनेको छ । त्यतिले मात्र इलेक्ट्रीक गाडीको बजार बढ्दैन भन्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल भन्छन्, ‘नेपालमा सबै इलेक्ट्रीक सवारीसाधनको बिक्री बढ्दै गएको छ । यहाँ उत्पादन गर्न व्यवसायीहरु लागि परेका पनि छन् । तर, सडक पूर्वाधार निर्माणले तिब्रता पाउने र इलेक्ट्रीक सवारीमा बिना डाउन पेमेन्ट कर्जा प्रबाह गर्ने वातावरण बनाउनु पर्छ अनि मात्र यहाँ इलेक्ट्रीक गाडी बनाउने बढ्छन् ।’

दक्षिण एसियाली बजारमा तुलनात्मक हिसावले नेपालका उपभोक्ताले चाँडो र सहजै इलेक्ट्रीक सवारीसाधनमा विश्वास गरेका छन् । त्यसमा पनि यसलाई उद्योगको रुपमा सरकारले विकास गर्दै नयाँ इनोभेशन, इन्भेष्टमेन्ट र रोजगारी सृजना गर्ने वातावरण बनाउन ढिला गर्नु हुँदैन ।
त्यसका लागि सरकारी तबरबाट सरोकारवालाहरुसँग कुरा गरेर काम अगाडि बढाउन सक्ने हो भने त्यसले केही सकारात्मक परिणाम ल्याउन सक्ने छ ।

‘हामीसँग प्रतिभावान इन्जिनियरहरु छन् । लगानी गर्न लगानीकर्ता इच्छुक छन् तर, त्यसको लागि सबैभन्दा कठिन उद्योग कहाँ लगाउने भन्ने विषय छ । त्यसको लागि सरकारले अटोल्याण्डको व्यवस्था गर्नु पर्छ । साथै सरकारी ऐन नियममा केही सुरधार भयो भने त्यसले लगानी आकर्षण गर्नेछ’ नाडाका टु ह्वीलर्स कमिटिका सदस्य दिपककुमार अग्रवालले भने ।

सरोकारवाला निकाय र सरकारले नै यसको बजार बढाउने लक्ष्य लिएको अवस्थामा आगामी बजेटबाट यो क्षेत्रका समस्या चिर्दै यस्ता वातावरणमैत्री सवारीसाधन नेपालमा नै बनाउन सक्ने अवस्था सृजना गर्न सक्नु पर्छ ।


Back_to_top