काठमाडौं । विद्युतीय कारको माग तिब्र गतिमा बढ्न थालेसँगै बजारमा सप्लाईमा समस्या देखिएको छ । विशेषत चीन, कोरिया, भारत र अमेरिकी कम्पनीले उत्पादन गरेका विद्युतीय गाडी नेपालमा आयात हुने गरेको भएपनि बजार माग अनुसार आयात हुन सकिरहेको छैन ।
फागुन १५ गते एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस इभीको बुकिङ खुल्ला गरेको थियो । बुकिङ खुल्ला भएको ७२ घन्टा भित्रै ४०० यूनिटभन्दा धेरै बुकिङ भएसँगै कम्पनीले बुकिङ बन्द गरेको छ ।
यही अवस्था हुन्डाईको पनि छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनीक ५ नेपाली बजारमा गतहप्ता विक्री सुरु गरेको थियो । विक्री सुरुसँगै बुकिङ लिन पनि कम्पनी तयार देखिएको छैन ।
‘हामी बुकिङ त लिन चाहन्छौं । तर, उत्पादकले दिन सक्छु भनेर कमिटमेन्ट गरेभन्दा धेरै बुकिङ पहिला नै भइसकेको छ । त्यसले बुकिङ मात्र लिएर गाडी दिन नसक्ने अवस्था आउने तर्फ सचेत भएका हौं’, लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।
हुन्डाईको कोनाको अवस्था पनि लगभग उस्तै छ । कम्पनीले कोनाको भने बुकिङ लिइरहेको छ ।
कियाले पछिल्ला महिनामा निरो इभी ल्याएको छैन । कम्पनीले केही यूनिट इभी ६ भने यही महिना भित्रै नेपाल आउन सक्ने जनाएको छ ।
‘अहिले नै बाहिरको रिभ्यू हेरेर आउने ग्राहकले बुकिङ लिन भनिरहनु भएको छ । तर, कति गाडी आउँछ भन्ने एकिन छैन । त्यसैले बुकिङ पनि लिएका छैनौं’, कन्टिनेन्टल ट्रेडिङ स्रोतले भन्यो ।
अहिले बजारमा धेरै खोजिने ब्राण्ड बीवाइडी पनि हो । कम्पनीले अहिले राम्रै संख्यामा गाडी उपलब्ध गराउँदै आएको छ । अहिले गाडीको सप्लाई राम्रो रहेको आधिकारीक विक्रेता साइमेक्स इंकको भनाई छ ।
टाटाको आधिकारी वितरक कम्पनी सिप्रदी ट्रेडिङले पनि राम्रै संख्यामा नेक्सन र टिगोर इभी उपलब्ध गराएको भएपनि धेरै ग्राहक अहिले पनि प्रतिक्षामा छन् । टाटाले पनि माग अनुसार गाडी दिन सकेको छैन ।


