काठमाडौं । विश्वमा वार्षिक ७ करोड ५० लाख यूनिट हाराहारीमा कार, जीप र भ्यानको बिक्री हुँदै आएको छ । त्यसमा करिब २० लाख हाराहारीमा इलेक्ट्रीक कार बिक्री हुन थालेको छ भने केही हजार यूनिट हाइड्रोजन फ्यूलसेल कारको बिक्री हुने गरेको छ ।
अहिले विश्वमा वातावरणिय मुद्दा निकै गम्भिर रुपमा उठेको छ । साथै, गाडी निर्माता कम्पनीहरु पनि वातावरण मैत्री सवारीसाधन उत्पादनमा ठूलो लगानीसहित तयार भएका छन् ।
अहिले विश्वमै सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी टोयोटाले हाइड्रोजन फ्यूलसेल कारमा जोड दिइरहेको छ । साथै, टोयोटाले हाइब्रिड र इलेक्ट्री कारमा पनि धेरै खर्च गरिरहेको छ । उसले इलेक्ट्रीक कार उत्पादन गर्न चिनीयाँ इलेक्ट्रीक सवारीसाधन तथा व्याट्री उत्पादक कम्पनी बिवाइडीसँग मिलेर नयाँ कम्पनी नै स्थापना गरेको छ ।
टोयोटापछि धेरै गाडी बिक्री गर्दै आएको फक्सवागेन ग्रुपले हाइड्रोजन फ्यूलसेल कारको प्रोजेक्टबाट आफुलाई फिर्ता गर्दै इलेक्ट्रीक कारको उत्पादनलाई तिब्रता दिएको छ । उसले अबको ७ वर्षमा ६० लाख इलेक्ट्रीक कार बिक्री गर्ने लक्ष्य बनाएको छ ।
त्यस्तै होन्डाले हाइब्रिड र इलेक्ट्रीक कार उत्पादनमा जोड दिदै आएको छ भने हुन्डाईले इलेक्ट्रीक र हाइड्रोजनबाट चल्ने कारमा आफुलाई केन्द्रित गरेको छ । हुन्डाईले दुबै प्रविधिको कार बिक्री गरिरहेको छ ।
निसान, किया, माज्दा, सुजुकी, टाटा, रेनो, प्यूजो जस्ता कम्पनीहरुको प्रयास इलेक्ट्रीक कार उत्पादनलाई बढाउने रहेको छ । इलेक्ट्रीकको तुलनामा हाइड्रोजन फ्यूलसेलको संभावनालाई चिनीयाँ सरकारले लिएको नीतिले धेरै बल प्रदान गरेको छ । चीनले अहिले इलेक्ट्रीक कारमा दिइरहेको अनुदान हटाएर हाइड्रोजन फ्यूलसेल कारमा प्रदान गर्दै आएको छ ।
चीनले नै पछिल्लो समय इलेक्ट्रीक कारमा जोड दिदै आएकोले सबै कम्पनीले यसको विकासमा लगानी सुरु गरेका थिए । अब चीन नै हाइड्रोजन फ्यूलसेल कार निर्माणमा लागेकाले धेरैको आँखा अब इलेक्ट्रीक कि हाइड्रोजन फ्यूलसेल कार भन्ने तिर सोझिएको छ ।


